३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

सिरिजङ्गामा गोलिया ढुवानी बन्द

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आउँदो जेठ १ गते पालिका क्षेत्रका सडकहरूबाट गोलिया ढुवानी बन्द गर्ने भएको छ।

गाउँपालिकाका अधिकृत आशिष सिग्देलका अनुसार २०८३ वैशाख १५ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार जेठ १ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि गोलिया ढुवानी बन्द गरिने छ। पालिकाको मामाङ्खे–याङपाङ–तेल्लोक–आम्बेगुदिन–खाम्दिने सडक खण्ड तथा तेल्लोक–सिञ्चेबुङ भञ्ज्याङबाट गोलिया निकासी तथा ढुवानी बन्द गरिने सिग्देलले जानकारी दिए।

गोलिया ढुवानी तथा निकासीका कारण सडक खाल्डो पर्ने र बिग्रने समस्या बारबार उत्पन्न भएको र सोही कारण यात्रुवाहकसहित अन्य सवारी साधनलाई आवतजावतमा मार्का परेकाले जेठ १ गते गोलिया ढुपानी तथा निकासी बन्द गरिने पालिकाले जनाएको छ।

पालिकाले वैशाख मसान्तसम्ममा बाँकी रहेका गोलिया ढुवानी तथा निकासी गरिसक्न गोलिया व्यवसायीहरूलाई समयावधि समेत दिएको छ। यसअघि गत चैत १३ गतेदेखि चार दिनका लागि पालिकाले पालिका क्षेत्रका मुख्य सडकमा ट्रयाक्टर वा ट्रकमार्फत गोलियाको ढुवानी बन्द गरेको थियो।

पालिकाले जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा निकायसंग आवश्यक समन्वय तथा निर्देशन गरिदिन तथा सशस्त्र प्रहरीको सिनाम वेस क्याम्प र पालिकाका ८ वटै वडाका अध्यक्षलाई निर्णय कार्यान्वयनमा सहयोग गरिदिन बोधार्थ दिएको छ भने डिभिजन वन कार्यालय ताप्लेजुङलाई निर्णयको जानकारी गराएको जनाएको छ।

प्रकाशित: २७ वैशाख २०८३ ११:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App