इलाम–पाँचथर र ताप्लेजुङ तराईका जिल्लासँगको यातायात सम्पर्कबाट विच्छेद भएका छन्। मेची राजगमार्गसहित दुई वैकल्पिक सडकसमेत वर्षाका कारण अवरुद्ध भएपछि झापासँग मेची पहाडी जिल्लाको सवारी आउ–जाउ बन्द भएको हो।
मेची राजमार्गको इलाम नगरपालिका ९, राजदुवालीमा पुरानै पहिरो अझ धस्सिएपछि सवारीका साधन बन्द छन्। महिनादिनदेखि पानी पर्नेबित्तिकै बन्द हुँदै घाम लाग्दा जसोतसो साना गाडी चलिरहेको यो खण्ड अहिले पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ। ‘मेची राजमार्गबाट सवारीका साधन वारपार गराउने अवस्था छैन,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी लक्ष्मी भण्डारीले भने, ‘पानीले बाटो बगेर साना–ठूला सवारी गुड्न नसक्ने अवस्था बनाएको छ।’
यो खण्डको विकल्पका रूपमा गोदकको सिमलगोलाईबाट जोगमाई खोला हुँदै तिल्केनी जोड्ने सडक साना गाडीका लागि सञ्चालनमा थियो। तर, आइतबार साँझको बाढीले जोगमाईको डाइभर्सनको उचाई पार गरेपछि सवारीका साधन चल्ने अवस्था नरहेको डिएसपी भण्डारीले जनाए। खोलाको वारि र पारि दुवैतर्फको सडकसमेत कच्ची भएका कारण पानीले हिलैहिलो हुँदा फोर ह्विल सवारीमात्र जसोतसो चल्दैथिए, त्यो पनि साना मात्र। ‘तर, अहिले चाहिँ डाइभर्सन नै क्षति भएका कारण यो मार्गसमेत बन्द भएको छ,’ उनले भने, ‘अहिले पनि झरी परिरहेकाले मर्मत कतिबेला हुने भन्ने यकिन छैन।’
मेची राजमार्ग बन्द हुँदा विकल्पका रूपमा गाडी चल्ने गरेको केचना–कञ्चनजंघा मार्ग (इलाम–झापा फास्ट ट्र्याक)को पुवाखोलामा रहेको डाइभर्सनमाथिबाट पानी बगेपछि यहाँबाट पनि सवारीका साधन चल्न बन्द भएको छ। यही मार्गको बेलासे (माइखोला)मा भर्खरै बेलीब्रिज जडान भइसकेको छ। तर, पुवाखोलामा वारपार गर्ने अवस्था नहुँदा सवारी साधन बन्द छन्।
करिब महिनादिनदेखि इलामसहित मेची पहाडको यातायात सेवा पूर्ण प्रभावित छ। तर, कुनै पनि उपयुक्त विकल्प निस्किन सकेको छैन। जोगमाई र पुवाखोलामा बेलीब्रिज जडान गर्ने भनिएपनि अहिलेसम्म सामग्री र प्राविधिक आएकै छैनन्। भारतबाट बेलिब्रिज र प्राविधिक आउनुपर्ने भएपनि पनि अहिलेसम्म कुनै टुंगो नभएको डिभिजन सडक कार्यालयले जनाएको छ।
डिभिजन प्रमुख पवन भट्टराईले केही दिनभित्रै आउने भनिए पनि अहिलेसम्म ठ्याक्कै यही दिन आउँछ भन्ने थाहा हुन नसकेको बताए। ‘हामीले यहाँको अवस्थाका बारेमा सडक विभागमा निरन्तर सम्पर्क गरिरहेका छौं,’ उनले भने, ‘विभागले पनि केही दिनमै बेलीब्रिज आउँछ भन्ने जबाफ दिएको छ तर मिति यकिन भएको छैन।’ उनले अहिले घाम लाग्दा सडकहरू मर्मत गरी सवारी साधन खुलाउन प्रयत्न हुने गरे पनि पानी पर्दा उपाय नै नहुने गरेको बताए। ‘पानी परेका बेला कुनै पनि सडक र डाइभर्सन मर्मत गर्ने अवस्था रहँदैन,’ उनले भने, ‘पानी नपरेका बेला हामीले मेसिन सम्बन्धित स्थानमै राखेका छौं, मर्मत गरिरहेका पनि छौं।’
निरन्तरको बन्दले इलाममा महिनादेखि मालबाहक सवारीका साधन आउन सकेका छैनन्। मालबाहक सवारी साधनहरू राजदुवालीभन्दा पारिपट्टि गोदकमा लाम लागेर बस्नुपरेको इलाम उद्योग वाणिज्य संघले जनाएको छ। संघ अध्यक्ष चेतनाथ पौडेल (कृष्ण)ले व्यवसायीले साना सवारीमा सामान पल्टी गरेर भएपनि अभर टार्न प्रयत्न गरिरहेको जनाए। ‘तर, यसरी साना गाडीमा सामान ल्याउने बाटो पनि अब बन्द भएको छ,’ उनले भने, ‘यो निकै जोखिममूर्ण अवस्था हो, कुनैपनि बेला इन्धन र खाद्यान्न अभाव हुनसक्ने खतरा देखिएको छ। गाडी सहज बनाउन सम्बन्धित निकायले ध्यान दिइहाल्नुपर्छ।’
मेची क्षेत्रकै ‘लाइफ लाइन’ मानिने मेची राजमार्गको राजदुवाली करिब ३ वर्षयता निरन्तरजसो अवरुद्ध भइरहेको छ। यहाँको करिब आधा किलोमिटर सडक पहिरोले धस्सिएपछि बर्खाभर गाडी चलाउन समस्या आउनेगरेको छ। अघिल्लो असोज १२ मा ठूलो पहिरोले बिग्रिएको यो खण्ड गत असोज १८ र १९ को बाढी–पहिरोका कारण क्षतविक्षत बनेको थियो। अहिले मर्मत भइरहेको छ तर सुध्रिइहाल्ने अवस्था बन्न सकेको छैन। मेची राजमार्गको यो ठाउँका ४ खण्ड एउटै पहिरोले निरन्तर बगिरहेको छ। भिरालो पाखामा गोलाई घुमाएर बनाइएको सडकमा माथिबाट ठूलो पहिरो झर्दा ४ खण्ड एकै तवरले क्षतिग्रस्त भएका छन्।
मेची राजमार्गकै इलाम नगरपालिका १, पुवाखोलाका २ स्थानमा पहिरोले क्षति गरिरहेको छ। ठूलो पानी परेमा यहाँ पनि अवरुद्ध हुने सम्भावना रहेको स्थानीय तथा इलाम नगरपालिका ४ का वडाध्यक्ष नुतनदेव दुलालले बताए। राजमार्गको कोल्बुङमा पनि पटक–पटक पहिरो झरेर आउ–जाउ अवरुद्ध हुनेगरेको छ।
प्रकाशित: २९ असार २०८३ ०७:५८ सोमबार





