गत भदौ १० गते आएको भोटेकोशीको बाढीका कारण सडक सञ्जालबाट टुटेको रसुवामा यातायात सञ्चालन भएको छ।
बाढीले बगाएको बेत्रावतीस्थित पुलको विकल्पमा नयाँ मोडुलर एक्रो ब्रिज (बेलिब्रिज) निर्माण भएपछि रसुवामा यातायात सञ्चालन भएको हो।
पुल निर्माणसँगै आज (आइतबार) देखि उक्त खण्डमा सवारीसाधनको आवागमन औपचारिक रूपमा सुचारु भएको छ। बाढीले फलाखु खोलास्थित पुल बगाउँदा रसुवाको यस क्षेत्रमा सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको थियो।
लामो समयसम्म सवारी आवागमन ठप्प हुँदा स्थानीयवासी र यात्रुहरूले सास्ती भोग्दै आएका थिए। सडक विभाग र स्थानीय प्रशासनले पुल निर्माणलाई प्राथमिकतामा राखेर युद्धस्तरमा काम अगाडि बढाएका थिए। प्राविधिकहरूको निरन्तर प्रयासपछि हाल उक्त स्थानमा जडान गरिएको मोडुलर एक्रो ब्रिजबाट यातायात सञ्चालन गर्न सकिने अवस्था बनेको छ।
प्रकाशित: २५ आश्विन २०८३ १२:५७ आइतबार





