१७ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

धादिङ र नुवाकोट चल्ने यातायात बसपार्क भित्रबाट सञ्चालन

एकीकृत बसपार्क सञ्चालनका लागि व्यवसायीलाई संवाद र समन्वयका माध्यमबाट समस्या समाधान समझदारी गराइएको काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बताएकी छन्।

यसका लागि व्यवसायीसँगै नेपाल प्रहरी, ट्राफिक प्रहरी, वडा कार्यालय र बस पार्क सञ्चालन व्यवस्थापनमा काम गर्ने पक्षसँग चरणबद्ध छलफल गरेर, व्यवसायीहरूलाई सेवा स्थानान्तरण गर्न समय दिएर, व्यवसायीका मर्का र गुनासाको सम्बोधन गरेर लामो समयदेखि अड्किएको एकीकृत बस पार्क सञ्चालन व्यवस्थापनसँग सम्बन्धित समस्या समाधान गरिएको उनको भनाइ छ।

महानगरपालिकाले वैशाख ७ गते व्यवसायीलाई अन्तिम पटक सार्वजनिक सूचना दिएर बसपार्कभित्र मात्र सवारी साधन रोक्ने, यात्रु चढाउने तथा ओराल्ने काम सञ्चालन गर्न गराउन अनुरोध गरेको थियो। वैशाख ७ गते कार्यवाहक प्रमुख डंगोलको अध्यक्षतामा नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्की, प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा, उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीसहितको बैठकले विगतका निर्णय र निर्णय कार्यान्वयनको अवस्था समीक्षा गर्दै अन्तिम पटक ३ दिनको समय थप गरेको थियो। त्यही बैठकले निर्णय कार्यान्वयनका लागि समन्वय र अनुगमन गर्न महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई जिम्मेवारी दिएको थियो।  

यसअघि २०८२ चैत २५ गते सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दूरीका बस सेवा बसपार्क भित्रबाट एकीकृत रूपमा सञ्चालन गर्न अनुरोध गरिएको थियो। यस सूचनाबाट नुवाकोटतर्फका यातायात सञ्चालन गर्ने कम्पनीहरू सम्पर्कमा आएको तर धादिङतर्फ सञ्चालन हुने यातायात व्यवसायीहरू सम्पर्कमा नआएको हुनाले प्रचलित कानुन बमोजिम सेवा सञ्चालन गर्न अन्तिम पटक ३ दिनको मौका प्रदान गरिएको थियो।

एकीकृत बस पार्कमा लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनको पार्किङ, टिकट काउण्टर सञ्चालन, यात्रु चढाउने र ओराल्ने क्रियाकलाप एकै ठाउँमा मात्र हुनेछ। 

प्रकाशित: १५ वैशाख २०८३ १८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App