धुलो, घाम, झरी र प्रदूषण नभनी निरन्तर सिठी फुक्दै सडकमा गुडिरहेका सवारीसाधनको व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी र चालकबिच बेलाबेलामा विवाद भएको सुनिन्छ, देखिन्छ। ट्राफिक प्रहरीले बिनासित्तै चिट काट्यो भन्ने गुनासो पनि सुनिन्छ तर ट्राफिक प्रहरीको कार्यबोझ कति छ भन्ने विषयमा कमै ध्यान दिइन्छ र चर्चा पनि कमै छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले उपत्यकामा दर्ता सवारीसाधनको संख्या २० लाख १८ हजार ४३४ छ तर ट्राफिक प्रहरी भने जम्मा १ हजार ५८९ मात्रै छन्। यस हिसाबले हेर्दा सडकमा ट्राफिक व्यवस्थापन गर्दा एक ट्राफिक प्रहरीको भागमा औसत १ हजार २७० वटा सवारीसाधन पर्ने देखिन्छ। करिब ५० लाख चलायमान जनसंख्या रहेको काठमाडौं उपत्यकामा सडक व्यवस्थापन, दुर्घटना न्यूनीकरण, ट्राफिक नियम कार्यान्वयन, मापसे नियन्त्रणदेखि हराएका सवारीसाधन खोजीसम्मको जिम्मेवारी यही सीमित जनशक्तिको काँधमा छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकामा ट्राफिक प्रहरीले दैनिक १० देखि १२ घण्टासम्म ड्युटी गर्नुपर्ने अवस्था छ। उपत्यकामा ७७ वटा ट्राफिक एकाइ छन् । यस आधारमा एउटा एकाइको भागमा औसत २६ हजार २१३ वटा सवारीसाधन व्यवस्थापनको जिम्मेवारी पर्ने देखिन्छ।
उपत्यकाका २८ स्थानमा ट्राफिक प्रहरी २४ सै घण्टा खटिन्छन्। नियमित ड्युटीअन्तर्गत बिहानदेखि बेलुका ८ बजेसम्म ३२६ स्थानमा खटिनुपर्छ। यसबाहेक २० स्थानमा मोबाइल पेट्रोलिङ, ५६ स्थानमा विशेष चेकिङ तथा ५६ स्थानमा रात्रिकालीन चेकिङ सञ्चालन गरिँदै आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार उपत्यकामा बढ्दो सवारीसाधनको चापसँगै ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। ‘पिक आवरमा सवारीसाधनको चाप अत्यधिक हुने भएकाले सडकमा ट्राफिक प्रहरीको व्यावसायिक सक्रियता बढाइएको छ,’ उनले भने,’ अप्ठेरो अवस्थामा पनि सहज सवारी आवागमन सहज बनाउने कोसिस गरिरहेका हुन्छौं।’
उपत्यकाका मुख्य चोकहरूमा बिहान र साँझ सवारीसाधनको चाप अत्यधिक हुन्छ। कार्यालय समय, विद्यालय तथा कलेज खुल्ने–बन्द हुने समय र सार्वजनिक बिदापछिका दिनहरूमा सडकमा सवारीसाधनको चाप बढी हुन्छ। यस्तो अवस्थामा सीमित जनशक्तिले सडक व्यवस्थापन गर्नुपर्दा ट्राफिक प्रहरीमाथि दबाब पर्ने अधिकारी बताउँछन्।
सडकमा खटिने ट्राफिक प्रहरीले दैनिक धुलो, धुवाँ र प्रदूषणको सामना गर्नुपर्छ। लामो समयसम्म सडकमा उभिएर काम गर्दा स्वास्थ्यमा समेत असर पर्ने गरेको प्रहरी अधिकारी बताउँछन्। गर्मीयाममा चर्को घाम र वर्षायाममा निरन्तर झरीबिच ड्युटी गर्नुपर्छ। सडकमा हुने दुर्घटना व्यवस्थापन, जाम खुलाउने, आपत्कालीन सवारीसाधनलाई सहज मार्ग दिने, भिआइपी सवारीसाधनको व्यवस्थापन, प्रदर्शन, सभा, जुलुसका समयमा ट्राफिक व्यवस्थापनबाहेक अतिरिक्त जिम्मेवारीसमेत ट्राफिकले निर्वाह गर्नुपर्छ।
ट्राफिक प्रहरीले सडक अनुशासन कायम गराउने क्रममा चालक र यात्रुको असन्तुष्टिसमेत सामना गर्नुपर्ने हुन्छ। कतिपय अवस्थामा विवाद, अपशब्द र अवज्ञासमेत भोग्नुपरेको प्रहरीको भनाइ छ।
चोरीका ६५ मोटरसाइकल धनीलाई
सडक व्यवस्थापन मात्रै होइन ट्राफिक प्रहरीले हराएका तथा चोरी भएका सवारीसाधन खोजी पनि गर्छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ६५ वटा मोटरसाइकल आइतबार सम्बन्धित धनीलाई फिर्ता गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा खोजतलासपछि फेलापरेका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।
ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक अधिकारीका अनुसार विशेष खोज अभियान सञ्चालन गरी विभिन्न स्थानबाट ती मोटरसाइकल फेला पारिएको हो।
उनले सवारीसाधन चोरी न्यूनीकरणका लागि चालक तथा सवारीधनी स्वयं पनि सचेत हुनुपर्ने बताए। उनका अनुसार सवारीसाधनमा अतिरिक्त लकिङ सिस्टम प्रयोग गर्न सके चोरीका घटनामा कमी आउन सक्छ। ट्राफिक प्रहरीले सवारीसाधन हराएमा तत्काल जानकारी गराउन र सुरक्षात्मक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गर्दै आएको छ।
मापसे र नियम उल्लंघनविरुद्ध कडाइ
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकविरुद्ध कडाइ गरेको छ।
कार्यालयले पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने ३१ जना चालकको सवारी लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभागमा सिफारिससमेत गरेको छ। अधिकारीका अनुसार ती चालकहरू एउटै वा विभिन्न कसुरमा पटकपटक कारबाहीमा परेकाले लाइसेन्स निलम्बनका लागि सिफारिस गरिएको हो। ‘एउटै कसुरमा पाँच पटकभन्दा बढी कारबाहीमा परेका सवारीचालकको लाइसेन्स निलम्बनका लागि पठाएका हौं,’ उनले भने, ‘मापसे, लापसे तथा मनलाग्दी ढंगले सवारी चलाउने प्रवृत्ति अझै देखिएको छ।’
ट्राफिक प्रहरीले मापसे जाँचलाई थप प्रभावकारी बनाएको जनाएको छ। विशेषगरी रातिको समयमा दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा नियमित जाँच अभियान सञ्चालन भइरहेको छ। प्रहरीका अनुसार नियम उल्लंघन गर्ने चालकका कारण दुर्घटना बढ्ने भएकाले कडाइ गरिएको हो।
‘फेसलेस ट्राफिक म्यानेजमेन्ट’
काठमाडौं उपत्यकामा प्रविधिमैत्री ट्राफिक व्यवस्थापन प्रणाली लागु गर्न थालिएको छ। ट्राफिक प्रहरीले विभिन्न स्थानमा ‘फेसलेस ट्राफिक म्यानेजमेन्ट’ अवधारणा लागु गर्न थालेको जनाएको छ। यो प्रणालीअन्तर्गत ट्राफिक लाइटलाई नियमित सञ्चालन गर्ने, सिसिटिभीमार्फत निगरानी बढाउने, नियम उल्लंघन गर्ने सवारीचालकलाई प्रविधिको माध्यमबाट कारबाही गर्ने प्रक्रिया अघि बढाइएको छ। अधिकारीका अनुसार थापाथली चोकमा यसको प्रारम्भिक अभ्यास थालिएको छ। त्यहाँ ट्राफिक प्रहरीको संख्यासमेत घटाएर सिसिटिभीमार्फत निगरानी बढाइएको उनले बताए। ‘थापाथली चोकमा ट्राफिकको संख्या घटाइसकेका छौं। अहिले केही मात्रै ट्राफिक प्रहरी बस्छन्’ उनले भने, ‘सिसिटिभीमार्फत निगरानी गरेर कारबाही प्रक्रिया अघि बढाएका छौं।’
फेसलेस ट्राफिक व्यवस्थापन प्रणाली लागु भएसँगै ट्राफिक प्रहरी र चालकबिच हुने प्रत्यक्ष विवाद कम हुने तथा नियम कार्यान्वयन प्रभावकारी हुने अपेक्षा गरिएको छ। उपत्यकामा सवारीसाधनको संख्या तीव्र रूपमा बढिरहेको छ तर सडक विस्तार, पार्किङ व्यवस्थापन र सार्वजनिक यातायातमा सुधार भने सोही अनुपातमा हुन सकेको छैन। सडक साँघुरा, अव्यवस्थित पार्किङ, फुटपाथ अतिक्रमण, सार्वजनिक सवारीमा यात्रु चढाउने–ओराल्ने अव्यवस्थित शैलीले जामको समस्या थप जटिल बन्दै गएको छ।
ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नागरिकको भूमिकासमेत रहने ट्राफिक प्रहरीको भनाइ छ। जथाभाबी लेन परिवर्तन गर्ने, ट्राफिक बत्तीको संकेत उल्लंघन गर्ने, हेलमेट तथा सिट बेल्ट प्रयोग नगर्ने, मोबाइलमा कुरा गर्दै सवारीसाधन चलाउने र मापसे गरेर गाडी चलाउने प्रवृत्तिका कारण दुर्घटना बढिरहेको प्रहरीले जनाएको छ। सडक अनुशासन कायम गर्न चालक, यात्रु र पैदल यात्री सबै जिम्मेवार हुनुपर्ने प्रहरी अधिकारी बताउँछन्।
‘ट्राफिक प्रहरीको जिम्मेवारी केवल सवारी रोकेर जाँच गर्नु मात्रै होइन। बढ्दो सवारीचाप व्यवस्थापन, दुर्घटना नियन्त्रण, चोरी भएका सवारीसाधन खोजी, प्रविधिमैत्री ट्राफिक प्रणाली लागु गर्ने, सडक अनुशासन कायम गराउनेलगायतका जिम्मेवारी पनि ट्राफिक प्रहरीले गरिरहेको छ’, अधिकारी भन्छन्, ‘ट्राफिक व्यवस्थापनमा सर्वसाधारणको सहयोग पनि उत्तिकै जरुरी हुन्छ।’
प्रकाशित: २८ वैशाख २०८३ ०७:०० सोमबार





