मान्यजनबाट विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ।
बडादसैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा आज टीकाको शुभसाइतपछि सडकमा सवारीसाधन बढेका हुन्। सार्वजनिक यातायातमा यात्रु बढेसँगै भीडभाड देखिन थालेको छ।
अहिले उपत्यकाभित्रिने प्रमुख नाकासहित काठमाडौं, भक्तपुर र ललितपुरका मुख्य सडकहरूमा सवारीसाधन सामान्य अवस्थामा सञ्चालनमा आइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका ट्राफिक प्रहरी उपरीक्षक नरेशराज सुवेदी बताउँछन्।
‘टीकाका दिन आज आफन्तकामा आउने-जाने मानिसको सङ्ख्या उल्लेख्य रूपमा बढ्दा गत दुई-तीन दिनको तुलनामा उपत्यकाका सडकमा सवारीसाधन बाक्लो देखिएको छ,’ उनले भने।
ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन योजनाबद्ध रूपमा ट्राफिक प्रहरी परिचालन गरिएको उनको भनाइ छ। ट्राफिक प्रहरीले सम्भावित क्षेत्रमा निगरानी र ट्राफिक नियम पालना गराउन नियमित जाँच गरिरहेका छन्।
दसैँ मनाउन गाउँघर पुगेका सर्वसाधारण आफ्नो पेसा व्यवसायका सिलसिलामा पुनः काठमाडौंफर्कने क्रम पनि आजैदेखि सुरु भएको छ।
नेपाल प्रहरीसँगको समन्वयमा यात्रु सुरक्षाका लागि सवारीसाधनको यान्त्रिक परीक्षण, तीव्र गति, चालकले मादक पदार्थ र लागुऔषध सेवन गरे, नगरेको परीक्षणलगायतलाई निरन्तरता दिइएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए।
ट्राफिक प्रहरीको सक्रियताका कारण सडक दुर्घटना र मानवीय क्षति न्यूनीकरण भएको उनको भनाइ छ।
अब दसैँ मानेर काठमाडौंफर्कने यात्रुको चाप बढ्ने हुँदा प्रमुख नाका र राजमार्गमा सोहीअनुसारको व्यवस्थापन गरिने प्रहरीले जनाएको छ। दसैँका अवसरमा काठमाडौंउपत्यकाबाट करिब दस लाख नागरिक बाहिरिएको सुरक्षा निकायको अनुमान छ।
प्रकाशित: ४ कार्तिक २०८३ १९:१३ बुधबार





