१४ कार्तिक २०८३ शनिबार
image/svg+xml
समाज

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात भएपछि माथिल्लो मनाङका पर्यटकीय गन्तव्यमा जाने पर्यटक मनाङमै रोकिएका छन्। 

माथिल्लो क्षेत्रमा बाक्लो हिमपात भएपछि पदयात्रामा नजान सूचना जारी गरिएसँगै पर्यटक मनाङमै रोकिएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए। उनका अनुसार हिमपातका कारण पर्यटकका साथै स्थानीयको जनजीवनसमेत कष्टकर बनेको छ। 

माथिल्लो मनाङमा बाक्लो हिउँ परेपछि भ्रमणमा आएका पर्यटक मनाङमै रोकिएका प्रमुख भुजेलले बताए। उनले भने, ‘करिब २०० पर्यटक अहिले मनाङ गाउँमा बसिरहेका छन्। हिउँ बाक्लो परेकाले मौसम सुधार हुँदै गए पनि हिँड्नसक्ने अवस्था रहेको छैन।’ जोखिम मोलेर केही पर्यटक भने यात्रा गर्न खोजिरहेको उनले बताए। 

मौसम पूर्वानुमान महाशाखाबाट जारी मौसमी प्रणालीको पूर्वानुमानअनुसार चक्रवातको प्रभावले हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा रहन पर्यटकलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए। 

‘मौसममा केही सुधार आएको छ। तर, पर्यटक तथा स्थानीयलाई आवतजावत गर्न र गन्तव्यमा जान दिने अवस्था भने बनिसकेको छैन’, प्रमुख जिल्ला अधिकारी खनालले भने, ‘हिउँ बाक्लो छ। पदयात्रामा जाने पदमार्गको सबै नक्सा नै छोपिएकाले जोखिम कायमै छ।’ 

सुरक्षित स्थानमा बस्न र जोखिम मोलेर यात्रा नगर्न होटल व्यवसायीलाई जानकारी गराउन अनुरोध गरिएको उनले बताए। 

बिहीबार साँझदेखि हल्का हिमपात भएको थियो भने शुक्रबार र शनिबार बिहानसम्म भारी हिमपात भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  

प्रकाशित: १४ कार्तिक २०८३ १६:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App