संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलले पाकिस्तानको ‘ब्रोड पिक’ हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली आरोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
मन्त्री पौडेलले बुधबार स्वदेश ल्याइएका आरोहीहरूको पार्थिव शरीरमा माल्यार्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका हुन्।
नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का महासचिव राजेन्द्र लामाका अनुसार मन्त्री पौडेलले आरोही किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका हुन्।
गत साउन २६ गते पाकिस्तानबाट नेपाल ल्याइएकामध्ये ग्यालु शेर्पा र निमा शेर्पाको बुधबार बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ भने किली पेम्बा शेर्पाको शुक्रबार अन्त्येष्टि गरिनेछ।
सोही दुर्घटनामा ज्यान गुमाएका गोरखाका पुरबहादुर गुरुङ ‘युक्ता’ को साउन २१ गते नै अन्त्येष्टि गरिसकिएको छ।
यस्तै, कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ को पार्थिव शरीर भने परिवार बेलायतमा रहेकाले उतै लगिएको छ। दुर्घटनास्थलबाट अझै एक नेपाली आरोहीको शव नेपाल ल्याउन बाँकी रहेको महासचिव लामाले जानकारी दिए।
गत साउन १४ गते पाकिस्तानको ‘ब्रोड पिक’ हिमालमा गएको भीषण हिमपहिरोमा परी ६ जना नेपालीसहित १० जना पर्वतारोहीले ज्यान गुमाएका थिए।
प्रकाशित: २८ श्रावण २०८३ २१:१८ बिहीबार





