२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

‘टूर दी’ पोखरा शनिबार हुने

पोखरामा वर्षेनी हुँदै आएको ‘टूर दी पोखरा’को नया श्रृङ्खला यहि पुस ५ गते शनिबार हुने भएको छ । साइकल सिटी पोखराले साइकल संस्कृति बसाउने उद्देश्यले आयोजना गर्दै आएको ‘टूर दी पोखरा’को आठौं श्रृंखला शनिबार हुन लागेको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।  

‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नाराका साथ यस वर्ष दुई दिने टूर दी पोखरा कार्यक्रम हुने आयोजक साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले जानकारी दिए । पहिलो दिन सबैको सहभागितामा पोखरा भित्र ५१ किलोमिटरको यात्रा तय भएको उनको भनाइ छ ।  

विदेशी पर्यटकका लागि आवासीयसहितको कार्यक्रम तय भएको उनले बताए । खास गरेर विदेशी पर्यटकका लागि आवासीय कार्यक्रम हो,उनले भने,‘त्यसमा स्वदेशीले पनि चाहेमा जान सक्छन् ।’

उनका अनुसार टूर दी पोखरा कार्यक्रमको शुभारम्भ पोखरा सभागृहबाट शुरु हुनेछ । त्यसपछि सृजनाचोक, सिद्दार्थचोक, विन्ध्यबासिनी, केआईसिंहपुल, लामाचौरहुँदै अकला मन्दिर पुगेर पहिलो सेसन अन्त्य हुनेछ । दोस्रो सेसन पुरुञ्चौरबाट शुरु भई गण्डकी रेन्वो ट्राउटमा पुगेर दीवा खाना खाएपछि पुनः अकला मन्दिर, पानी ट्याङ्की, महेन्द्रगुफा, बाटुलेचौर मैदान, बगर, नदीपुर, महेन्द्रपुल, पृथ्वीचोक, मुस्ताङचोक, कान्तिपुर गार्डेनवाटिका पुगेर समापन हुने उनले जानकारी दिए ।

साइकल सिटी पोखराले सन २०१५ मा ‘स्वस्थ मुटु सबैका लागि, जहिलेपनि जहाँपनि’ भन्ने नाराका साथ ‘टूर दी पोखरा’को शुभारम्भ गरेको थियो भने २०१६ मा ‘पावर योर लाईफ’, २०१७ मा ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ र सन २०१८ मा ‘बोसो पगाल, ईन्धन नबाल’, २०१९ मा ‘बर्न फ्याट नट फ्यूल’ भन्ने नाराका साथ आयोजना गरेको थियो । सन २०२० र २०२१ मा कोभिडका कारण रोकिएको यो कार्यक्रम सन २०२२ मा ‘थोपा थोपा ईन्धन बचाऔं’ भन्ने नाराका साथ भएको थियो ।

यस वर्षको साइकल र्‍यालीमा एक हजार जना साईक्लिष्टहरु सहभागी हुने भएका छन् । जसमा ४ वर्षिय बालबालिकादेखि ८६ वर्षिय बृद्दसम्मको सहभागिता रहने आयोजकको दाबी छ । यस वर्षको टूर दी पोखरामा नेपालका ३२ जिल्लाका साईक्लिष्टहरु तथा भारतलगायतका देशका पर्यटकहरु पनि सहभागी हुने कार्यक्रम संयोजक तथा संस्थाका सचिव रामचन्द्र भट्टले जानकारी दिए । हालसम्म ८ सय ६० जनाले नाम दर्ता गरिसकेका छन्,उनले भने,‘अन्तिम समयसम्ममा १ हजार साईक्लिष्टहरु सहभागी हुने विश्वास लिएका छौं ।’ उनका अनुसार टूर दी पोखरा कार्यक्रममा विश्व साइकल यात्रीहरु, सामाजिक अभियन्ताहरुदेखि फरक क्षमता (बौद्धिक अपाङ्गता भएका साइक्लिस्टहरुको उल्लेख्य सहभागिता रहनेछ ।

नाम दर्ता गर्दा १ हजार शुल्क लाग्ने र त्यसवापत आयोजकले टिसर्टसहित चिया, खाजा र खानाको व्यवस्था गर्ने आयोजकले जनाएको छ ।

क्लिन सिटी, ग्रिनी सिटीको अवधारणा अनुरुप शुरु गरिएको ‘टूर दी पोखरा’कार्यक्रमले साइकल संस्कृति बसाल्नुका साथै ईन्धन बचाउनका लागि महत्वपूर्ण योगदान दिने विश्वास आयोजकको छ । त्यसबाहेक पर्यावरण संरक्षणसँगै पर्यटन प्रवद्र्धनमापनि टेवा पुग्ने संस्थाका सल्लाहकार तथा नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बताए । उनले भने,‘टूर दी पोखराले पोखरालाई पर्यटन गन्तव्य बनाउन र पर्यटकको बसाई लम्व्याउन सघाउँछ ।’

साईकल सिटी पोखराका अध्यक्ष श्रेष्ठले टूर दी पोखरा कार्यक्रम साइकल र्‍यालीको माध्यमबाट पोखरा र वरिपरिका पर्यटकीय गन्तव्यहरु पहिचान गरी आमन्त्रित स्वदेशी एवम् विदेशी साइकल यात्रीहरुलाइ भ्रमण गराई हरित क्रान्तिको सुरुवात गर्नु पनि रहेको बताए ।

 

प्रकाशित: ३ पुस २०८२ १९:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App