२ असार २०८३ मंगलबार
image/svg+xml
समाज

रौतहटमा टिपर आतंक : नौ दिनमा दुई जनाको मृत्यु

रौतहटमा टिपरको ठक्करबाट हुने दुर्घटना रोकिएको छैन। पछिल्ला ९ दिन यता टिपर दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् भने एक जना गम्भीर घाइते भएका छन्।

अवैध क्रसर उद्योगबाट नदिजन्य पदार्थको अनियन्त्रित ढुवानीका कारण जिल्लाका सडकहरू दिनप्रतिदिन असुरक्षित बन्दै गएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।

मंगलबार दिउँसो करिब ४ बजे गरुडा चिनीमिल नजिक ढुङ्गा–गिटी बोकेको मधेश प्रदेश ०३–००१ क २५१६ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको ना २८ प ७२५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कटहरिया नगरपालिका–६ फतेपुर निवासी २० वर्षीय शेख स्वयलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार उनका मामा सोही गाउँका २२ वर्षीय शेख आशिक गम्भीर घाइते भएका छन्। उनको उपचार भइरहेको छ।

यसअघि गत जेठ २४ गते राति रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुर चोक नजिक स्थानीय मलाही गाउका ३५ वर्षीय प्रमोद सहनीलाई प्रदेश–२–०३–००१ ख २६३३ नम्बरको टिपरले ठक्कर दिएको थियो। सहनीको घटनास्थलमै मृत्यु भएको थियो भने चालक दुर्घटनापछि फरार भएका थिए।

प्रहरीको सघन अनुसन्धानपछि उक्त टिपरका चालक बृन्दावन नगरपालिका–२ निवासी २४ वर्षीय अब्दुल एजाजलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको थियो।

स्थानीयका अनुसार असार लागेसँगै नदी तथा खोलाबाट उत्खनन रोकिएपछि नदिजन्य पदार्थ व्यवसायमा संलग्न समूहहरूले पहिले नै ठूलो परिमाणमा भणडारण गरेर राखेका ढुङ्गा, गिटी र बालुवा असारे विकास बजेट खर्च गर्ने चटारो बढेसँगै ती सामग्री तीव्र रूपमा ढुवानी भइरहेका छन्। जसका कारण जिल्लाका मुख्य तथा भित्री सडकहरूमा टिपरको चाप अस्वाभाविक रूपमा बढेको देखिन्छ।

स्थानीयले प्रहरी प्रशासनको मौन समर्थन र प्रभावकारी अनुगमनको अभावमा अवैध क्रसर उद्योगबाट सञ्चालन हुने टिपरहरूले सडकमा आतंक मच्चाएको आरोप लगाएका छन्।

तीव्र गति, लापरवाहीपूर्ण सवारी सञ्चालन र ट्राफिक नियमको बेवास्ताका कारण निर्दोष नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका छन्।

पटक–पटकको दुर्घटनापछि पनि नियन्त्रणका लागि प्रभावकारी कदम नचालिँदा रौतहटका सडकहरूमा टिपर आतंक झन् भयावह बन्दै गएको स्थानीयहरुको गुनासो छ।

दुर्घटनामा ज्यान गुमाउनेहरूको संख्या बढ्न थालेपछि अवैध क्रसर सञ्चालन, नदिजन्य पदार्थको ढुवानी तथा टिपरको गति नियन्त्रण गर्न सम्बन्धित पक्षसँग सरोकारवालाहरुले माग गरेका छन्।

प्रकाशित: २ असार २०८३ १७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App