२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml
समाज

तिलागुफा पूर्ण खोप सुनिश्चित घोषणा

तिलागुफा नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ।

जन्मेदेखि ५ वर्षमुनिका सबै बालबालिकाले १३ वटा खोप पाएपछि तिलागुफा नगरपालिका जिल्लाको पाचौँ पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको हो।

जन्मेदेखि १५ महिनाभित्रका बालबालिकालाई विभिन्न रोगबाट बचाउन १३ प्रकारका खोप लगाइसक्नु पर्ने प्रावधान छ।

कुनै कारणले खोप लगाउन छुटेका १६ देखि ५९ महिनासम्मका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखामार्फत खोजी गरेर सबै खोपको मात्र पूरा गरेपछि पूर्ण खोप सुनिश्चित घोषणा गर्ने प्रावधान रहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा।रत्नवीर सुनारले बताए।

‘बालबालिकाको जीवन बचाउका लागि खोप महत्त्वपूर्ण हुन्छ,’ उनले भने ‘सबै बालबालिकालाई खोप पुऱ्याउन स्थानीय तहका खोप केन्द्रले काम गरेका छन्।’ उनले पूर्ण खोपका लागि स्वास्थ्यकर्मीको सक्रियता, जनप्रतिनिधिको अगुवाइ महत्त्वपूर्ण हुने बताए। 

तिलागुफाका ११ वटै वडामा खोप अभियान सञ्चालन गरेर सबै बालबालिकाले खोप पाएको यकिन भएपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताए।

उनले नगरपालिकाका विकट बस्तीमा पनि स्वास्थ्यकर्मी खटाएर सबै बालबालिकालाई खोपको पहुँचमा ल्याएको बताए।

स्थानीय तहले घरदैलो गरेर खोप लिनबाट छुटेका बालबालिका पत्ता लगाएर खोप दिने अभियान चलाएका छन्।

प्रकाशित: २७ जेष्ठ २०८३ ११:२३ बुधबार