ललितपुर जिल्ला अदालतले टिकटक सामग्री निर्माता तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
बिहीबार न्यायाधीश टेकनाथ गौतमको इजलासले मुद्दासँग सम्बन्धित उपलब्ध प्रमाणहरूको अध्ययनपछि अधिकारीलाई थुनामा राखेर अनुसन्धान तथा न्यायिक प्रक्रिया अघि बढाउन आदेश दिएको हो।
अदालतमा सरकारी पक्षका तर्फबाट तीन जना सरकारी वकिलले बहस गरेका थिए भने अधिकारीको पक्षमा आठ जना कानुन व्यवसायीले प्रतिरक्षा गरेका थिए।
अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरी गत शनिबार राति काठमाडौं ल्याइएको थियो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगीसम्बन्धी आरोपमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।
एक व्यवसायीले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले २०८२ चैतमा अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामा तुलसा अधिकारीसहित १० जनालाई प्रतिवादी बनाइएको छ।
प्रकाशित: २१ जेष्ठ २०८३ १६:२० बिहीबार





