दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ घर भएका प्रकाश थापा र वडा नम्बर ८ घर भएका लोकेश बुढा र वडा नम्बर ४ घर भएका सुशील शाहीमाथि प्रहरी चौकी जम्बुकाँधका इन्चार्ज असई धनसिंह ठकुरीले कुटपिट गरेको आरोप लागेको छ।
बिहीबार साँझ घरतर्फ जाँदै गरेका ती युवालाई मदिरा सेवन गरेको भन्दै नियन्त्रणमा लिएर चौकीमै कुटपिट गरिएको पीडित पक्षले बताए।
स्थानीयका अनुसार चौकी इन्चार्ज ठकुरी आफैँ पनि मदिरा सेवन गरेको अवस्थामा थिए। उनी आफैँ लठ्ठिँदा–लठ्ठिँदै युवालाई नियन्त्रणमा लिएर बदनियतपूर्वक कुटपिट गरेको आरोप स्थानीयको छ। कुटपिटकै कारण घाइते भएका थापा र बुढाको उपचारका लागि स्थानीय र प्रहरीले समन्वय गरी स्वास्थ्य संस्थामा लगिएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डिएसपी) गणेश बरालले मदिरा खाएर होहल्ला गरेको व्यक्तिलाई नियन्त्रणमा लिनुपर्नेमा कुटपिट गरेको खबर आएको बताए। चौकी इन्चार्जमाथि अनुसन्धान गरी कारबाही गरिने उनले जनाए।
कुटपिटपछि शुक्रवार बिहानैदेखि स्थानीयले प्रहरी चौकी घेराउ गरेका छन्। विवाद बढेसँगै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली पुगेको छ। विवाद बढेसँगै चामुण्डाविन्द्रासैनी नगरपालिकाको नगरप्रमुखसहित जनप्रतिनिधि छलफलमा बसेका छन्।
प्रकाशित: २८ कार्तिक २०८२ १३:५९ शुक्रबार





-1200x560-600x400.jpg)