शनिबार बिहानदेखि परेको अविरल वर्षाका कारण उदयपुरमा एक बालिकाको ज्यान गएको छ। त्रियुगा नगरपालिका–५ दमौतीस्थित अम्बिका खोलाले बगाउँदा तीन बर्सिया रेबिका राईको मृत्यु भएको हो।
मृतक बालिका रौतामाई गाउँपालिका–३ पाकाना सैलेनी स्थायी बासिन्दा र हाल त्रियुगा–५ दमौतीमा बसोबास गर्दै आएका उजन राईकी छोरी हुन्। घर नजिकै खेल्ने क्रममा अम्बिका खोलामा बगेर बालिकाको मृत्यु भएको स्थानीयले प्रहरीलाई टेलिफोनमार्फत जानकारी गराएका थिए।
जिल्ला प्रहरी कार्यालय उदयपुरको टोली शनिबार दिउँसो घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी फर्किएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी केदारमान दोङले बताएका छन्।
प्रकाशित: १८ आश्विन २०८२ २०:१७ शनिबार





