धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरस्थित एक उद्योगमा ग्याँस लिक भएर आगलागी हुँदा तीन जना कामदार गम्भीर घाइते भएका छन्।
बिहीबार बिहान करिब ७ बजे राजेश अग्रवालले सञ्चालन गरेको ग्रिन बायो फ्युल उद्योग प्रा.लि. (ब्रिकेट उत्पादन हुने उद्योग) भित्र कामदार बस्ने कोठामा खाना पकाउने क्रममा ग्याँस लिक भई अचानक आगलागी भएको थियो।
आगलागीमा हुँदा तीन जना कामदारको शरीरका विभिन्न भाग जलेको छ भने घाइते तीनै जनाको प्रादेशिक अस्पताल, जनकपुरमा उपचार भइरहेकोमा थप उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केबरबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। आगो भने नियन्त्रणमा आइसकेको छ भने घटनाबारे थप अनुसन्धान समेत भइरहेको छ।
घाइतेहरू:-
१. जिल्ला बारा प्रसौनी गा.पा. वडा नं.४ खुट्वा प्रसौनी बस्ने अं. वर्ष २३ को सोमराती अंसारीको शरीरको विभिन्न भाग जलेको अवस्था गम्भीर,
२. ऐ.ऐ. बस्ने अं. वर्ष २२ को अब्दुल अंसारीको शरीरको विभिन्न भाग जलेको अवस्था गम्भीर,
३. ऐ.ऐ. बस्ने अं. वर्ष २५ को धर्मराज महत्तोको शरीरको विभिन्न भाग जलेको अवस्था गम्भीर।
प्रकाशित: ७ श्रावण २०८३ ११:४६ बिहीबार





