२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
समाज

भारतका तीन विशिष्ट धर्मगुरु नेपाल आउँदै

भारतका तीन प्रमुख धर्मगुरु यसै महिना विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन नेपाल आउने भएका छन्।

काठमाडौं, विराटनगर र पशुपतिनाथ क्षेत्रमा आयोजना हुने विशेष समारोहहरूमा उनीहरूको सहभागिता रहने तय भएको हो।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका कोषाध्यक्ष एवं गीता परिवारका संस्थापक स्वामी गोविन्द गिरी जी महाराज मे ९ तारिखमा काठमाडौं आउने कार्यक्रम छ।

उनी विश्व हिन्दू परिषद् नेपालअन्तर्गत सञ्चालित जनकल्याण प्रतिष्ठानको २९औँ वार्षिकोत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

प्रतिष्ठानले नेपालमा जनजातीय विद्यार्थीहरूका लागि ‘आमा को माया छात्रावास’ र देशभर करिब १२ हजार एकल विद्यालय सञ्चालन गर्ने लक्ष्य लिएको छ।

यसैगरी, श्रृङ्गेरी शारदापीठमका शङ्कराचार्य जगद्गुरु विधूशेखर भारती महाराज मे २२ देखि २८ तारिखसम्म नेपाल भ्रमणमा रहनेछन्।

उनले काठमाडौंमा आयोजना हुने ‘धर्म विजय यात्रा’ कार्यक्रमको नेतृत्व गर्ने र पशुपतिनाथ मन्दिरमा हुने विशेष यज्ञ एवं अन्य धार्मिक अनुष्ठानमा सहभागिता जनाउने तालिका रहेको छ।

जुन महिनामा भारतको सबैभन्दा ठूलो जूना अखडाका आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरी जी महाराज नेपाल आउने तय भएको छ। हिन्दू स्वयंसेवक सङ्घको निमन्त्रणामा जुन १९ मा काठमाडौं आइपुग्ने उनले विद्वत् गोष्ठीमा विशेष प्रवचन दिनेछन्।

स्वामी अवधेशानन्द गिरीले जुन २० मा विराटनगरमा हिन्दू स्वयंसेवक सङ्घको कोशी सम्भाग कार्यालय उद्घाटन गर्ने र सोही दिन आयोजना हुने ‘हिन्दू–बौद्ध–किराँत महासम्मेलन’ मा सहभागी हुने कार्यक्रम छ।

जुन २१ मा उनले पशुपतिनाथको दर्शन र जीवित देवी कुमारीको पूजा अर्चना गर्ने आयोजकले जानकारी दिए। 

प्रकाशित: १९ वैशाख २०८३ १७:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App