नेपाल प्रहरीका अनुसार देशभर पछिल्लो २४ घण्टामा भएका २४ वटा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । जसमा १२२ जना घाइते भएका छन्।
प्रहरीको तथ्यांकअनुसार दुर्घटनाबाट ज्यान गुमाउनेहरु लुम्बिनी र गण्डकी प्रदेशका रहेका छन्। लुम्बिनी प्रदेशमा दुई जना तथा गण्डकी प्रदेशमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दाङको राप्ती गाउँपालिका–४ निवासी ५७ वर्षीया चुरिया चौधरी ट्रकको ठक्करबाट गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, बर्दियाको गुलरिया नगरपालिका–११ मा ट्रकको ठक्करबाट घाइते भएका तिलक कँडेलको उपचारका क्रममा ज्यान गएको छ।
गण्डकी प्रदेशमा बागलुङको ढोरपाटन नगरपालिका–५ खायर्खोला क्षेत्रमा ट्र्याक्टर दुर्घटना हुँदा चालक आशिष घर्तीमगर को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अनियन्त्रित ट्र्याक्टर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको थियो।
घाइतेको संख्या भने कर्णाली र कोशी प्रदेशमा सबैभन्दा बढी देखिएको छ। कर्णाली प्रदेशमा २६ जना र कोशी प्रदेशमा २५ जना घाइते भएका छन्। त्यसैगरी मधेश प्रदेशमा २० जना, काठमाडौं उपत्यकामा १७ जना, बागमती प्रदेशमा १३ जना, लुम्बिनी प्रदेशमा ६ जना तथा सुदूरपश्चिम प्रदेशमा ५ जना घाइते भएका छन्।
प्रकाशित: ३१ जेष्ठ २०८३ ११:१५ आइतबार


-600x400.jpg)


