२४ आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग

फाइल तस्बिर

रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा तीन वटा संस्थाबाट रु ३५ लाख ४७ हजार ५३६ सहयोग भएको छ।

जापान नेपाल सोसाइटी (जेएनएस), नेपाल जाइका अलमनाई एसोसिएसन (जान) र समृद्धिका लागि यथायोग्य कार्यसंस्था(आइस्याप) ले स्वस्फूर्त रूपमा सङ्कलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ।

जापान नेपाल सोसाइटीबाट रु २२ लाख २६ हजार ५६०, नेपाल जाइका अलमनाई एसोसिएसनबाट रु १० लाख ११ हजार ७०५ र आइस्यापबाट रु तीन लाख नौ हजार २७१ सङ्कलन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

जानका अध्यक्ष एवं कृषि प्रवर्द्धन आयोजना नेपालका टिम लिडर डा रामचन्द्र भुसालको नेतृत्वको टोलीले उक्त रकम अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरेको हो। यसअघि जानका आजीवन सदस्य एवं नेपाल सरकारका पूर्वसहसचिव लोकनाथ देवकोटाले पनि बाढीप्रभावितको सहयोगार्थ रु ५० लाख अर्थमन्त्रीलाई हस्तान्तरण गरिसकेका छन्।

बाढीपीडितलाई सहयोग जुटाएर कठिन परिस्थितिमा नेपाल सरकारलाई साथ दिएकोमा अर्थमन्त्रीले तीनवटै संस्थालाइ धन्यवाद ज्ञापन गरेको ती संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

डा भुसालका अनुसार नेपाल जाइका अलमनाई एसोसिएसन नेपाल-जापान सम्बन्ध सुमधुर बनाउन विगत पाँच दशकदेखि क्रियाशील छ। हाल जापान नेपाल सोसाइटीले आइस्यापमार्फत कृषि प्रवर्द्धन आयोजना कार्यान्वयनमा सहयोग गरिरहेको छ। ती संस्थाले विपद्मा राहत तथा पुनःस्थापनाका कार्यक्रम, सामुदायिक विकास र कृषि उत्पादन तथा बजारीकरणमार्फत ग्रामीण समुदायको आयआर्जन बढाउने कार्यमा सहकार्य गर्दै आएका छन्।

प्रकाशित: २३ आश्विन २०८३ १२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App