सामाजिक सञ्जाल टिकटकमार्फत युरोपेली मुलुक सर्बियामा आकर्षक रोजगारीको प्रलोभनमा परी भारतको नयाँ दिल्लीमा ४५ दिनदेखि बन्धक बनाइएका तीन नेपालीको उद्धार गरिएको छ।
लाखौं रुपैयाँ ठगीमा परेका दुई महिला र एक पुरुषलाई सकुशल उद्धार गरी परिवारसँग पुनर्मिलन गराइएको हो।
उद्धार गरिएकामा मोरङको उर्लाबारीकी एक महिला, धनकुटाका एक पुरुष र धनकुटा घर भई हाल सुन्दरहरैँचा बस्ने एक महिला छन्। उनीहरूलाई भैरहवा हुँदै विराटनगर ल्याएर परिवारको जिम्मा लगाइएको मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
भारतको सामाजिक संस्था ‘किन इन्डिया’ को पहलमा नोभेम्बर अन्तिम साता तीनै जनाको उद्धार गरिएको हो। संस्थाका कोशी प्रदेश प्रतिनिधि महेन्द्र भट्टराईका अनुसार कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको समन्वयमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय मोरङ र एक जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामार्फत परिवारको जिम्मा लगाउँदै पुनर्मिलन गराइएको हो।
वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने आश्वासन दिएर अवैध मानव ओसारपसारमा संलग्न समूहले उनीहरूलाई दिल्ली लगेर बन्धक बनाएको थियो। घटनाबारे जानकारी पाएपछि उद्धारका लागि ‘किन इन्डिया’ का निर्देशक नवीन जोशीले सम्बन्धित निकायसँग समन्वय गरेका थिए।
संयोजक भट्टराईका अनुसार नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो, नेपाली राजदूतावास नयाँ दिल्ली र दिल्ली प्रहरीको समन्वयमा तीनै जनालाई सकुशल उद्धार गरी भारतमा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल ल्याइएको हो।
पीडित तीनै जना टिकटकमा न्यू समृद्धि म्यानपावरको नाम जोडिएको विज्ञापन देखेर काठमाडौं पुगेका थिए। म्यानपावर प्रतिनिधिले सर्बियामा मासिक एक लाखदेखि एक लाख ५० हजार रुपैयाँसम्म र ओभरटाइम गर्दा दुई लाख रुपैयाँसम्म तलब हुने प्रलोभन देखाएका थिए। सोही आश्वासनमा उनीहरूले उक्त म्यानपावर कम्पनीलाई जनही आठ लाख रुपैयाँ अग्रिम बुझाएका थिए।
भिसा र कागजात तयार भएको खबरपछि नेपालको विमानस्थलबाट उड्न नमिल्ने भन्दै उनीहरूलाई भारतको बाटो युरोप पठाउने तयारी गरिएको थियो। तर, भारत पुगिसकेपछि बुझ्दा काठमाडौंमा भनिएको उक्त म्यानपावरको बोर्ड र कार्यालय नै हटाइसकिएको खुलेको छ।
गत असोज १५ मा झापाको काँकडभिट्टा नाका हुँदै सिलिगुडीको बागडोरा विमानस्थलबाट तीनै जना दिल्ली पुगेका थिए। हातमा अक्टोबर ३ को हवाई टिकट थमाइएकाले उनीहरू मख्ख परेका थिए।
तर, दिल्ली विमानस्थलबाट गोरखा घर बताउने धनबहादुर गुरुङले उनीहरूलाई एक होटलमा लगेर फ्लाइट १-२ दिन सरेकाले यहीँ बस्नुपर्ने र फ्लाइट भएपछि खबर आउने भन्दै कुर्न लगाएका थिए। पछि गुरुङले फोन नै उठाउन छाडेको उनीहरूले बताएका छन्।
गुरुङ सम्पर्कविहीन बनेपछि होटलको बिल ६० हजार भारतीय रुपैयाँ तिर्न नसक्दा होटल सञ्चालकले कोठामा थुनेर मानसिक यातना दिन थालेको बताइएको छ।
दिल्लीको होटलमा डेढ महिना रहँदा विभिन्न प्रकारका मानसिक समस्या खेप्नुपरेको उनीहरूको गुनासो छ।
भारतमा नेपालीहरूको उद्धारमा सक्रिय संस्था ‘किन इन्डिया’ ले चार वर्षको अवधिमा भारतबाट बेचबिखनको जोखिममा परेका एक हजार दुई सयभन्दा बढी नेपालीको उद्धार गरिसकेको जनाएको छ।
प्रकाशित: ११ मंसिर २०८३ १४:४५ शुक्रबार





-600x400.jpg)