२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml
समाज

लाङटाङ जाँदा बेपत्ता तीन जना भक्तपुरको एकै परिवारका

लाङटाङ घुम्न गएर बेपता भएका तीन जना भक्तपुरको एउटै परिवारको रहेको खुलेको छ । ती युवायुवती मध्यपुर थिमि नगरपालिका क्षेत्रका नभई जिल्लाकै सूर्यविनायक नगरपालिका क्षेत्रका रहेको पनि खुलेको छ । यसअघि उनीहरु मध्यपुर थिमि नगरपालिका क्षेत्रका भनी प्रहरीले जनाएको थियो । उनीहरु तीनै जना सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोट हर्षचोकका रहेको पाइएको हो ।

घटना विवरण अनुसार उनीहरु १६ जनाको समूहमा असोज १७ गते शुक्रबार भक्तपुरबाट काठमाडौं हुँदै लाङटाङ घुम्न गएका थिए । उनीहरु गोसाइँकुण्ड गाउपालिका वडा नं ०५ ब्याम्बोस्थित होटलमा बास बसी भोलिपल्ट १८ गते शनिबार सोही होटलबाट लाङटाङतर्फ गएका थिए । सोही क्रममा ६ बजेको समयमा गोसाईकुण्ड गाउँपालिका-४ बेरिङ खोल्साले बगाएको थियो ।

चार जना बाढीमा बेपत्ता भएकामध्ये तीन जना एकै परिवारका रहेको खुलेको छ । जसमा सूर्यविनायक नगरपालिका-४ दधिकोट हर्षचोककी २६ वर्षीया सनिता श्रेष्ठ, २२ वर्षीया संस्कृति श्रेष्ठ र २० वर्षीय किशन श्रेष्ठ रहेको परिवारले जनाएको छ । उनीहरुको साथमा भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक बस्ने वर्ष २३ को रवि श्रेष्ठ पनि बेपता भएका थिए ।

बेपता भएकामध्ये वर्ष २६ की सनिता दसैं मनाउन विदेशबाट नेपाल आएकी थिइन् । उनी असोज १० गते भक्तपुरस्थित घरमा दसैं मनाउन आएको परिवारले जनाएको छ । उनी कामको सिलसिलामा दुवई थिइन् ।  

घटना विवरण अनुसार १६ जनाको समूहमा रहेका उनीहरु पनि दुई समूहमा रहेका थिए । हिड्नसक्ने १४ जनाको समूह अगाडि नै खोला तरेर माथि पुगिसकेको थियो । ढिलो हिड्ने चार जना खोला तर्ने क्रममा बगेका थिए ।  

परिवारका काका पर्ने केशब श्रेष्ठका अनुसार पछिल्लो समूहमा रहेका चार जनामध्ये सुरुमा सबैभन्दा ठूली सनितालाई खोलाले बगाउन लागेको थियो । त्यसपछि उनलाई बचाउन बहिनी संस्कृति पुगिन । दुवैजना अप्ठेरामा परेपछि बचाउन भाइ किशन पुगेका थिए । अर्को साथी पनि उनीहरूलाई बचाउन जाने क्रममा बगेका थिए ।  

छिमेक हरिवहादुर श्रेष्ठले आइतबार दिउँसोसम्म परिवारका कोही पनि सदस्य घटनास्थलतर्फ नगएको बताए । अगाडि हिँडेका १२ जना भने रहेको खबर पाएको बताए । उनीहरुको घरमा बुबा कृष्ण, आमा, पाँच छोरी र एक छोरा गरी कुल आठ जनाको परिवार छ । उनीहरुमध्ये ठूली तीन छोरीहरुको विवाह भइसकेकाले उनीहरु पाँच जनाको परिवार थिए । उनीहरुमध्ये पनि काइली सनिता दुवईबाट दसैं मनाउन मात्रै आएकाले उनीहरुको परिवारमा चार जना मात्रै थिए । घटनामा परेका वर्ष २० का किशन घरका एक्लो छोरा थियो । घटनापछि घरमा दुई बुढाबुढी मात्रै छन् ।  

 

प्रकाशित: १९ आश्विन २०८२ १७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App