कैलालीको लम्कीचुहामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । १२ जना घाईते भएका छन ।
इलाका प्रहरी कार्यालय लम्कीका अनुसार ज्यान जानेमा बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निमुवाबोझीका ६४ वर्षका दानबहादुर साउँद, ३५ वर्षका हर्क साउँद र १६ वर्षका शितल साउँद छन ।
दुर्घटनामा १२ जना मलामी घाईते भएका छन । उनीहरु सबैको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए ।
सिंहका अनुसार सुपप्र ०१–००२ त ४९९१ नम्बरको ट्याक्टर आइतबार दिउँसो १ बजे लम्कीचुहा नगरपालिका वडा नम्बर ३ स्थित धोबेनी खोला नजिकै दुर्घटना भएको हो ।
दुर्घटनाग्रस्त ट्याक्टर पूर्वपश्चिम राजमार्गबाट तल खसेको छ । दुर्घटना पश्चात ट्याक्टर चालक बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निमुवाबोझीका देवबहादुर बोहरा फरार भएका छन । प्रहरीले चालक बोहराको खोजी भइरहेको जानकारी दिएको छ ।
स्थानीय ७४ वर्षका हर्क बोहराको अन्तिम दाहसंस्कारका लागि लम्कीचुहा नगरपालिका वडा नम्बर ३ चिसापानीस्थित कर्णाली नदी किनार गैरहेका बेला ट्याक्टर दुर्घटनामा परेको हो ।
प्रकाशित: २ कार्तिक २०८२ १५:१६ आइतबार





