जिल्लाको मध्यवर्ती उदयपुरगढी गाउँपालिका ६ स्थित नेपालटार बजारका होटल तथा पसलमा छ्याप्छ्याप्ती अखाद्य वस्तु बिक्री वितरण हुने गरेको पाइएको छ । बुधबार बजार अनुगमनको क्रममा अखाद्य वस्तु बेच्ने तीन ठाउँमा प्रशासनले तालाबन्दी गरेको छ ।
मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्डले छोएको सहरोन्मुख बजार नेपालटारमा जिल्ला अनुगमन समितिले अनुगमन गर्दा अखाद्य वस्तु बिक्री वितरण गर्ने गरेको पाइएपछि दुई किराना तथा एउटा होटलमा ताला लगाइएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डे संयोजकत्वको अनुगमन समितिले म्याद नाघेका विभिन्न प्रकारका खाद्य वस्तु फेला पारेको टोली सदस्य प्रशासन कार्यालयका कर्मचारी विश्वमणि पोखरेलले बताए । उनका अनुसार सुनिता किराना तथा कटिङ सेन्टर र विनोद किराना पसल तथा साईन बोर्ड नराखिएको श्रेष्ठ होटलमा उपभोक्ता हितविपरित गरेको पाइएपछि सिलबन्दी गरिएको छ ।
आवश्यक कानुनी प्रक्रियासमेत पूरा नगरी सञ्चालनमा रहेका ती पसलहरु कारबाहीमा परेको उनले बताए । ती पसल तथा होटल सञ्चालकलाई ७ दिनभित्र आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्ननिर्देशन दिइएको छ ।
‘स्थानीयबासीले बजारमा अखाद्य वस्तु बेच्ने गरेको भन्ने गुनासो आईरहेको थियो’ पोखरेलले भने ‘त्यसैले आज संयुक्त टोलीले नेपालटार बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा उपभोक्ता हितविपरित सामान तथा कानुनी प्रक्रिया पुरा नगरेको पाइएपछि तालाबन्दी गरी थप कारबाही गर्न लागिएको छ ।’
टोली संयोजक पाण्डेले बजारमा २५ वटा विभिन्न पसल अनुगमन गर्दा फेला परेका म्याद नाघेका वस्तु मुचुल्का उठाई बुधबार साँझै नष्ट गरिएको बताए । टोलीले बजारबाट चिसो पेय पदार्थ, चाउचाउ, तेल, मैदा, बिस्कुटलगायत १० हजार मूल्य बराबरको अखाद्य वस्तुहरु बरामद भएको र सबै नष्ट गरेको जनाएको छ ।
स्थानीयका अनुसार बजार अनुगमन गर्न सदरमुकामबाट टोली आउने थाहा पाएपछि अधिकांश पसल भने बन्द गरिएको थियो । अनुगमन गर्न आउने सुईको पाएपछि धेरै पसलहरु ताला लगाएर सञ्चालक बेपत्ता भएको स्थानीयले बताए । धेरै पसल बन्द भएपछि टोलीले २५ पसल र होटलमा मात्र अनुगमन गर्न पाएको थियो ।
प्रकाशित: ११ भाद्र २०८२ २१:३५ बुधबार



-600x400.jpg)

