२१ मंसिर २०८२ आइतबार
image/svg+xml
समाज

शिक्षक मृत्यु घटनामा तीन जना पक्राउ

टीकापुरमा शनिबार साँझ शिक्षकको शंकास्पद मृत्युको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेकाले पक्राउ परेका व्यक्तिको पहिचान गोप्य राखेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक नवीन राजा बुढाथोकीले एक शिक्षकको शंकास्पद मृत्यु भएको जानकारी दिएका छन् । उनले मृत्यु हुनेमा जानकी गाउँपालिका वडा नम्बर ४ कञ्चनपुरस्थित जनता नमूना माविका शिक्षक ४५ वर्षका जगदीस पन्त रहेको बताए ।

शिक्षक पन्त धनगढी उपमहानगरपालिका तारा नगरका बासिन्दा हुन । उनी विगत १७ वर्षदेखि विद्यालयमा अंग्रेजी विषय अध्यापन गर्दै आएको प्रधानाध्यापक नारायण तिमिल्सिनाले जानकारी दिए ।

घटना विवरण अनुसार बिदामा घर गएका शिक्षक पन्त साउन ३ गते नै धनगढीबाट फर्केका थिए । प्रधानाध्यापक तिमिल्सिनाका अनुसार उनीसँगै अर्का एक जना शिक्षक समेत फर्केका थिए । उनीहरु दुवै जना दुर्गौलीमा अलग अलग घरमा डेरामा बस्ने गरेको प्रधानाध्यापक तिमिल्सिनाले बताए ।

धनगढीबाट दुर्गौली पुगेका पन्त र अर्का शिक्षक आ–आफ्नो डेरामा गए । प्रधानाध्यापक तिमिल्सिनाका अनुसार दुवै जना शिक्षक आ–आफ्नो डेरामा गएको केही समय पछि मृतक पन्तले ती अर्का शिक्षकलाई कल गरेर टीकापुर बोलाए।

ती अर्का शिक्षक र एक अर्को व्यक्ति टीकापुरस्थित एक होटलमा पुग्दा मृतक पन्त छट्पटाईरहेको अवस्थामा भेटिएको बताइएको छ । उनीहरु दुई जनाले मृतक पन्तलाई उपचारका लागि टीकापुर अस्पताल पुर्याएका थिए । अस्पतालका चिकित्सकले शिक्षक पन्तलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले घटनालाई शंकास्पद भनेको छ । प्रहरी नायब उपरीक्षक बुढाथोकीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । उनले विष सेवनको आशंका गरेका छन् । 

मृतक पन्तले आफै विष सेवन गरे वा अरु कसैले विष सेवन गराएको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले मृतक पन्त सो होटलमा एक्लै थिए वा अरु कोही व्यक्तिहरू पनि सँगै थिए भन्ने बारेमा केही खुलाएको छैन । 

‘घटनाको अनुसन्धान भइरहेको छ’ प्रहरी नायब उपरीक्षक बुढाथोकीले भने–‘केही कुरा शंकास्पद छ ।’ प्रहरीका अनुसार घटना साँझ साढे सात बजेतिर भएको हो ।

मृतक शिक्षक पन्तका आफन्त राति नै टीकापुर पुगेका छन् । शवको पोष्टमार्टम टीकापुरमै गर्ने कि धनगढी गर्ने भन्ने बारेमा छलफल भइरहेको प्रधानाध्यापक तिमिल्सिनाले जानकारी दिए । ‘आफन्तले धनगढीमै पोष्टमार्टम गर्ने भन्ने सुनेको छुँ’ उनले भने–‘प्रहरीले अनुमति दिन्छ कि दिँदैन सो बारे छलफल भइरहेको छ ।’

मृतक शिक्षक पन्तको घटना शंकास्पद भन्दै विद्यार्थी विरोधमा उत्रिएका छन् । उनीहरुले शिक्षकको हत्या गरेको आरोप लगाएका छन् । केही विद्यार्थीहरूले सामाजिक सञ्जाल मार्फत शिक्षकको हत्या विरुद्ध प्रदर्शनमा उत्रिन आह्वान गरेका छन् । 

प्रकाशित: ४ श्रावण २०८२ १२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App