तीन दिनअघि सवारी दुर्घटनामा ज्यान गुमाएका सुमन श्रेष्ठको शव पोष्टमार्टम भएको छ। शनिबार राति विद्युतीय जीप (इभी)को ठक्क्रबाट ज्यान गुमाएका सुमन श्रेष्ठकी ९ वर्षीया छोरीको शिक्षादीक्षामा खर्च बेहोरिदिने सहमतिपछि स्थानीयवासीले शव जिम्मा लिएका हुन्।
कटारीस्थित सलेश युवा क्लबका सचिव तथा देवी माध्यमिक विद्यालय भुल्केका लेखापाल श्रेष्ठको शनिबार राति ९ः३० वजे मदन भण्डारी लोकमार्गअन्तर्गत कटारी नगरपालिका ५ भोर्लेमा इभीको ठक्करबाट निधन भएको थियो।
गाईघाटदेखि काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१ ००७ ख ६८४४ नं. को इभीले विपरीत दिसाबाट आइरहेको प्र १ ०५ ००१ प ९६४२ नं. को मोटरसाइकललाई गलत साइडमा गएर ठक्कर दिँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए।
उद्धार गरी उपचारार्थ प्रादेशिक अस्पताल कटारी लगिएकोमा उपचारकै क्रममा केही घण्टापछि उनको निधन भएको थियो। ट्राफिक नियमविपरित गलत दिशामा गएर ठक्कर दिँदा श्रेष्ठको निधन भएको भन्दै स्थानीयवासीले न्यायको माग गर्दै आइतबार बिहानदेखि साँझसम्म सडक अवरुद्ध गरेका थिए।
अघिल्लो दिनको छलफलमा गाडी धनी यकिन नभएका कारण सहमति जुट्न सकेको थिएन। कटारी नगुरप्रमुख राजेशचन्द्र श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, इलाका प्रशासन कार्यालय कटारी, इलाका प्रहरी कार्यालय कटारी, याताायत व्यवसायी, उद्योग बाणिज्य संघ, सलेश युवा क्लवलगायतको सर्वपक्षीय प्रतिनिधित्वको छलफल भए पनि गाडी धनी यकिन नहुँदा निष्कर्ष निस्कन सकेको थिएन।
लोकमार्ग अवरुद्ध हुँदा दसैँजस्तो महत्वपूर्ण चाडको बेला सयौँ यात्रु अलपत्र परेकाले गाडी धनी यकिन गर्ने सर्तमा आइतबार साँझ ७ः०० बजेदेखि यातायात सुचारु गर्ने सहमति भएको थियो। बाँकी निर्णय अर्को छलफलमा गर्ने सहमति भए अनुसार सोमबारको छलफलमा बालिकाको शैक्षिक भविष्य सुनिश्चित गर्ने सहमति भएपछि परिवारजनले शव बुझेर पोष्टमार्टम गरेको इप्रका प्रमुख डिएसपी उपेन्द्र खरेलले बताए।
उनका अनुसार बालिकाको उच्च शिक्षासम्म अध्ययन गर्ने व्यवस्था मिलाउन गाडी धनीले भरणपोषण गर्ने तथा कटारी नरपालिकाले स्थानीय सरकारको हैसियतले सहयोग गर्ने सहमति भएको कटारी ३ का वडाध्यक्ष पुष्कर खड्काले बताए।
वडाध्यक्ष खड्काका अनुसार पालनपोषण गर्ने एक मात्र अभिभावक (बुबा) श्रेष्ठको दुर्घटनामा परि निधन भएपछि बालिका अलपत्र परेकी छिन्। श्रीमतीसँग ६ महिनाअघि मात्र सम्बन्ध विच्छेद भएको अवस्थामा छोरीको रेखदेख र पालनपोषणको दायित्व अभिभावक सुमनको थियो। तर, उनकै निधन भएपछि छोरी बेसहारा नन्न पुगेकी छिन्। यस्तो अवस्थामा बालिकाको भविष्य बिग्रन नदिन सबैपक्ष सम्वेदनशील हुनुपर्ने कुरामा सहमति जुटाइएको खड्काले बताए।
प्रकाशित: ३ कार्तिक २०८३ ०७:४७ मंगलबार





