दुई महिनाअघि गाउँनजिकै राउटे समुदाय आएर बस्न थालेपछि सिम्ता गाउँपालिका–९ दुनीकी मिमकुमारी रानालाई लगाएको मकै बाली स्याहार्न पाउने आशा पलाएको छ। राउटेको उपस्थितिपछि बाँदरको सिकार हुन थालेकाले खेतबारीमा बाँदर देखिएका छैनन्। ‘राउटे अब एक महिना बसिदिए ढुक्कसँग बाली स्याहार्न पाइन्थ्यो,’ उनले भनिन्, ‘राउटे यहाँ नआएका भए अहिलेसम्म बाँदरले बाली खाएर सखाप पार्थे।’
बस्तीनजिकै राउटे समुदाय आएकाले यस पटक उनको बारीमा मकैको एउटा घोगा पनि नासिएको छैन। बाँदर धपाउन दिनभरि हेरालु बन्न पनि परेको छैन। ‘अरू बेला उज्यालो हुने बेलादेखि अँध्यारो नहुँदासम्म बाली जोगाउन खेतबारीमै खटिनुपथ्र्यो। त्यति गर्दा पनि बाँदरले खाइसक्थे,’ उनले भनिन्, ‘यस पटक राउटे आइदिएर आनन्द भएको छ।’
बिहीबार राति राउटे बस्तीमा फँलाटो शाहीको निधन भयो। बस्तीमा कसैको मृत्यु हुँदा तत्कालै बसाइँ सर्ने राउटे समुदाय शुद्ध भएपछि मात्रै अर्को ठाउँमा सर्ने गर्छ। यो महिनाको अन्तिममा चोखिएर राउटे समुदाय बसाइँ सर्ने छ। राउटे टाढा नजाउन् भनेर दुनी, खहरे, खानीखोला, गितारा लगायत गाउँबिच उनीहरूलाई फकाउने होडबाजी छ।
‘कसैले खानेकुरा दिन्छौं, कसैले तरकारी दिन्छौं, कसैले खाद्यान्न दिन्छौं भन्दै बस्तीमा पुगेर राउटेलाई फकाउने धेरै हुनुहुन्छ,’ राउटे समुदायसँग काम गर्दै आएको सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले भने, ‘यसले गर्दा राउटेलाई निर्णय लिन गाह्रो भइरहेको छ।’
दुनीमा बसाइँ सरेर आएको एक महिनामा राउटेले १०६ वटा बाँदरको सिकार गरेका छन्। अहिले संघीय संसद्मा राउटेको विषयले खुबै चर्चा पाएको छ। बाँदरले बस्ती नै विस्थापित हुनुपरेका खबरहरू आइरहेका छन्। तर राउटे जहाँ हुन्छन्, त्यहाँ बाँदरको आतंक कम हुन्छ।
दुनीका देवेन्द्र खत्री राउटे गाउँनजिकै आउँदा बाँदरबाट राहत मिलेको बताउँछन्। ‘राउटेलाई देख्नेबित्तिकै बाँदर त चार कोस टाढा भाग्छन्,’ उनले भने, ‘हामीलाई त बाँदर उल्टै लखेट्न आउँछन्।’
बाँदर धपाउनकै लागि हरेक घरले कुकुर पालेका छन्। कुकुर पाल्नु रहर भने होइन। ‘एक्लै बाँदर धपाउन जाँदा उल्टै झम्टन आउँछन्,’ खत्रीले भने, ‘कुकुरसँगै भए बाँदर धपाउन सजिलो हुन्छ।’
विशेष गरेर मकै र आलुको मौसममा बाँदरले धेरै दुःख दिने गरेको उनको अनुभव छ। ‘मकैमा घोगा लाग्ने बेलादेखि नभित्र्याउँदासम्म बिहानदेखि रातिसम्म ड्युटी दिनुपर्छ, आलु लगाउँदै जान्छौं, बाँदरले खोस्रेर फालिदिन्छ, हाम्रो मुख्य बाली नै मकै र आलु हो,’ उनले भने, ‘बाँदरका दुःखले यहाँ धेरैले खेती गर्न छाडेका छन्।’
राउटे समुदाय नेपालको एक मात्र फिरन्ते जाति हो। राउटे समुदायका स्पष्ट तीन मान्यता छन्, खेतीपाती नगर्ने, एउटै ठाउँमा नबस्ने र लेखपढ नगर्ने।
राउटे समुदायको मुख्य आहारा बाँदर हो। कर्णालीका सुर्खेत, सल्यान, जाजरकोट, दैलेख, कालिकोट र सुदूरपश्चिमको अछामसहितका जिल्लामा घुम्दै हिँड्ने यो समुदायले बाँदरको सिकार गर्छ। सोसेकका जोडी शिक्षक खत्रीका अनुसार राउटेले पछिल्लो १५ महिनामा ७३७ बाँदरको सिकार गरेका छन्। ‘राउटे समुदायका लागि बाँदर नै मुख्य सिकार हो,’ उनले भने, ‘उनीहरूले जहाँ बस्छन्, त्यहीं बाँदरको सिकार गर्छन्।’
राउटेले बाँदरको सिकार गर्नुअघि आफ्नो समुदायका मुखियाको अनुमति लिन्छन्, धामीसँग बाँदर मार्ने ‘साइत’ निकाल्छन्। त्यसपछि समूह बनाएर जंगल पस्छन्। उनीहरू बाँदरलाई लखेट्दै जालमा पार्छन् अनि भालाले हानेर मार्छन्। जहाँ राउटे बस्छन्, त्यहाँ बाँदरहरू भाग्न थाल्छन्।
राउटे मुखिया प्रकाश शाही आफूहरूको मुख्य आहारा नै बाँदर भएको बताउँछन्। उनका अनुसार अहिले खसीबाख्रा, कुखुरालगायत खान थालिए पनि बाँदर मार्ने काम भने रोकिएको छैन। ‘पहिलेपहिले हाम्रो आहारा नै बाँदर हुन्थ्यो, बाँदरहरू पनि जंगलमा प्रशस्तै हुन्थे,’ उनले भने, ‘बाँदर घट्दै गए, हामीले पनि खसी–बाख्रा, कुखुरा खान थाल्यौं।’
मुखिया शाहीको अनुभवमा उनीहरू हिँड्ने ‘करिडोर’मा बाँदरको संख्या घट्दै गएको छ। राउटेहरू बसाइँ सर्नुअघि त्यो क्षेत्रमा मूलको पानी र बाँदर छन् कि छैनन् भनेर हेर्छन्। ‘मूलको पानी र बाँदर हुने क्षेत्रमा हामी धेरै बस्छौं,’ अर्का मुखिया वीरबहादुर शाहीले भने, ‘बाँदरलाई जहान केटाकेटीले पनि धेरै मन पराउँछन्।’
पछिल्लो समय सरकारले दिने सामाजिक सुरक्षा भत्ताले उनीहरू खसीबाख्रा र कुखुरा पनि किनेर खान थालेका छन्। सामाजिक सुरक्षा भत्ता पाउनुअघि काठका सामग्रीसँग उनीहरू खसीबाख्रा साटेर लिन्थे।
राउटेसँगै सोसेकका जोडी शिक्षक पनि बसाई सर्दै उनीहरूसँगै हिँड्छन्। पछिल्लो १५ महिनामा राउटेले कुनकुन ठाउँमा बसाइँ सरेर कति बाँदरको सिकार गरे भन्ने तथ्यांक सोसेकले राखेको छ। १५ महिनामा १५ ठाउँमा बसाइँ सरेका राउटेले बाँदर मारेको देखिन्छ। २०८२ वैशाखमा राउटे समुदाय सुर्खेतको वीरेन्द्रनगर–२ को गिरीघाटमा थियो। त्यहाँबाट करेखोला बसाइँ सरेको राउटे समुदाय चन्द्रपुर हुँदै लेकबेंसी नगरपालिका–१० को झुप्राखोलामा बसाइँ सर्यो। उनीहरू त्यहाँबाट रानीमाटे खोला, रातेचौर हुँदै चौरासे पुगेर दसैं मनाए।
दसैंपछि चिसापानी बसाइँ सरेको यो समुदाय पुलटार, लमना हुँदै गुर्भाकोट नगरपालिका–१४ को जहरेमा बसाइँ सर्यो। त्यहाँबाट फेरि लेकबेंसी–२ को खहरेखोला पुगेको यो समुदाय गोठीखोलाबाट सिम्ता गाउँपालिकाको मुग्रे हुँदै अहिले दुनीमा छ। नेपालको एक मात्रै फिरन्ते यो समुदायका ४० घरधुरी र १३२ सदस्य छन्।
प्रकाशित: २७ श्रावण २०८३ १०:०२ बुधबार





