सांसद आशिका तामाङले माइक्रोबसको छतमा पाठोलाई बाँधेर पोखरा लैजाने सहचालकको प्रशंसा गरिएको भन्दै आलोचना गरेकी छन्।
सामाजिक सञ्जालमा उक्त घटनाको भिडियो सार्वजनिक भएपनि सहचालकले पछि उक्त पाठोलाई माइक्रोबसको छतमा राखेको भन्दै पशुप्रति देखाइएको व्यवहार उचित नभएको बताएकी हुन्।
तामाङले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यी भाइ तपाईंको आदर्श हुन सक्छन्, तर मेरो लागि कदापि हुने छैनन्।’ मिठा र चिल्ला कुरा सुनेर रमाउने भीडभन्दा खस्रो बोली बोले पनि सत्यको बाटो नछाड्ने व्यक्ति हजार गुणा ठीक हुने उनको भनाइ छ।
उनले मानिस धनी वा गरिब जे भए पनि अन्य प्राणीप्रति हेर्ने दृष्टिकोण, भावना र करुणा महत्वपूर्ण हुने उल्लेख गरेकी छन् । पशुप्रति करुणा नदेखाउने व्यक्तिको व्यवहारप्रति उनले प्रश्न उठाएकी छन्।
गत साता गाडीको छतमा बिरामी पाठो राखेर पोखरा लैजान लागिएको देखेपछि तामाङले सहचालकलाई पशुलाई त्यसरी नलैजान सुझाव दिएकी थिइन्। घटनास्थलमा पुगेर उनले छतमा बाँधिएको पाठोलाई तल झार्न र गाडीभित्र सुरक्षित स्थानमा राखेर लैजान आग्रह गरेकी थिइन्।
भिडियोमा तामाङले पाठोलाई छतमा बाँधेर लैजाँदा चिसो र असहजताका कारण थप पीडा हुने भन्दै सहचालकलाई सचेत समेत गराएकी थिइन्।
‘मलाई जति गाह्रो हुन्छ, यसलाई कति गाह्रो हुन्छ,’ उनले सहचालकलाई भनेकी थिइन् । पैसाका लागि पशुलाई दुःख दिने काम नगर्न आग्रह गर्दै उनले आवश्यक परे आफूले पैसा दिने तर पशुप्रति यस्तो व्यवहार नगर्नसमेत बताएकी थिइन्।
तामाङले नयाँ सरकार, नयाँ सांसद र नयाँ नेतृत्व आए पनि नागरिकको व्यवहार परिवर्तन हुन आवश्यक रहेको बताएकी थिइन्।
‘यत्रो नयाँ सरकार आएको छ, नयाँ सांसदहरू छन्, नयाँ नेता छन्। अनि हामी जनता चाहिँ कहिले परिवर्तन हुने ?’ उनले प्रश्न गरेकी थिइन्।
प्रकाशित: ८ कार्तिक २०८३ १२:२२ आइतबार





