नेपाल लगायत हिन्दुकुश–हिमालय क्षेत्रका केही भागमा यो बर्ष सामान्यभन्दा कम वर्षा हुने पूर्वानुमान गरिए पनि यसले विपद्को जोखिम घटने अपेक्षा गर्न नहुने वैज्ञानिकले चेतावनी दिएका छन् । छोटो समयमा अत्यधिक वर्षा, बढ्दो तापक्रम र गहिरिँदो जलसंकटले यस वर्षको मनसुनलाई झन् खतरनाक बनाउन सक्ने उनीहरुको तर्क छ ।
इसिमोडद्धारा प्रकाशित ‘हिन्दुकुश–हिमालय मनसुन आउटलुक–२०२६’ नामक प्रतिवेदनले भुटान, भारत, नेपाल र पाकिस्तानलगायतका देशमा यो बर्ष सामान्यभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ । साथै, यो क्षेत्रका अधिकांश भागमा तापक्रम सामान्यभन्दा बढी रहने अनुमान गरिएको छ ।
यद्यपि, विज्ञहरूले आकस्मिक बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम उच्चनै रहने बताएका छन्।
‘मनसुन कमजोर भए पनि छोटो अवधिमा हुने अत्यधिक वर्षा अझै पनि ठूलो चिन्ताको विषय हो । समुदाय र सम्बन्धित निकायहरूले अल्पकालीन मौसम पूर्वानुमान र चेतावनीहरूलाई नजिकबाट पछ्याउन आवश्यक छ,’ ईसीमोडका जलविज्ञ मनीष श्रेष्ठले भने ।
अनियमित वर्षा र बढ्दो तापक्रमको संयुक्त प्रभावले एउटै सिजनमा खडेरी र बाढी दुवैको जोखिम बढाउने देखिएकोछ। लामो समयसम्म पानी नपरी सुख्खा अवस्था रहने र त्यसपछि एक्कासि भारी वर्षा हुने क्रमले विशेषगरी पहाडी क्षेत्रमा आकस्मिक बाढी र पहिरो निम्त्याउन सक्छ ।
‘समग्रमा मनसुन सुख्खा रहने संकेत देखिए पनि त्यसको अर्थ जोखिम कम हुनु होइन । छोटो समयमा हुने अत्यधिक वर्षाले पनि गम्भीर विपत्ति निम्त्याउन सक्छ’ मनीष श्रेष्ठले थपे ।
बढ्दो तापक्रमले गर्मीजन्य तनाव बढाउनुका साथै पानीको उपलब्धता घटाउने सम्भावना रहन्छ । मनसुन सुरु हुनुअघि हिमपात कम रहेकाले प्राकृतिक जलसञ्चय क्षमतामा कमी आएको र यसले वर्षाको उतारचढावप्रति नदी प्रणाली र भू–जल पुनर्भरण अझ संवेदनशील बन्ने प्रतिवेदनमा उल्लेख छ ।
उक्त प्रतिवेदनका सह–लेखक सार्थक श्रेष्ठका अनुसार हिमपात कम हुनुको अर्थ मनसुनमा प्रवेश गर्दा यो क्षेत्रमा मौसमी जल भण्डारणको प्राकृतिक आधार कमजोर अवस्थामा छ ।
विज्ञका अनुसार यी संयुक्त जोखिमहरूले दक्षिण एसियाभर विपद् योजना तथा व्यवस्थापनलाई थप जटिल बनाएकाछन् ।
‘मनसुनको बढ्दो अनिश्चितताले विभिन्न निकायबीच समन्वयमा चुनौती सिर्जना गरिरहेको छ। अब तयारीका लागि सरकार, प्राविधिक संस्था र स्थानीय निकायबीच अझ सशक्त सहकार्य आवश्यक छ,’ आईसीमोडकी जल तथा विपद् जोखिम न्यूनीकरण (डीआरआर) प्रमुख नीरा श्रेष्ठ प्रधानले भनिन् ।
प्रतिवेदनले खाद्य उत्पादन, जलस्रोत र ऊर्जा प्रणालीमाथि बढ्दो दबाबका साथै ग्रामीण र शहरी दुवै क्षेत्रको संवेदनशीलता बढ्दै गएको औँल्याएको छ।
सोधमूलक संस्था रिका इन्डियाका प्रमुख कार्यकारी अधिकृत रणित चटर्जीका अनुसार ‘लामो सुख्खा अवधिपछि हुने अनियमित वर्षाले पहिरोको जोखिम बढाउँछ। यसले बसाइँसराइ, खाद्यान्न मूल्यवृद्धि, ऊर्जा संकट तथा पर्यटन क्षेत्रमा अवरोधजस्ता सामाजिक–आर्थिक दबाबलाई झन् चर्काउन सक्छ।”
वैज्ञानिकहरूले यो क्षेत्रमा प्रभाव–आधारित मौसम पूर्वानुमान र प्रारम्भिक चेतावनी प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता पनि औँल्याएका छन्।
ईसीमोडका वरिष्ठ सल्लाहकार अरुण भक्त श्रेष्ठका अनुसार अब खडेरी र बाढीको जोखिमलाई अलग–अलग रूपमा व्यवस्थापन गर्न सक्ने अवश्था छैन । जलवायुको परिवर्तनशीलता बढ्दै जाँदा एउटै प्रकारको विपत्तिका लागि मात्र तयारी गर्नु यथेष्ट नहुने उनको भनाइ छ।
‘प्रारम्भिक चेतावनी प्रणाली, अल्पकालीन पूर्वानुमान र स्थानीय तहको तयारीलाई एकीकृत रूपमा सञ्चालन गर्नुपर्छ, ताकि जटिल बन्दै गएका जोखिमहरूको सामना गर्न सकियोस्,’ उनी भन्छन् ।
हिन्दुकुश–हिमालय मनसुन आउटलुक–२०२६ विश्व तथा क्षेत्रीय स्तरका विभिन्न जलवायु मोडेलहरूको पूर्वानुमानमा आधारित छ। यसको उद्देश्य जुनदेखि सेप्टेम्बरसम्म रहने मनसुनी मौसमअघि सरकार, विपद् व्यवस्थापन निकाय र समुदायहरूलाई योजना तथा तयारीमा सहयोग पुर्याउनु रहेको छ ।
प्रकाशित: २८ जेष्ठ २०८३ १५:४५ बिहीबार





