१४ आश्विन २०८३ बुधबार
image/svg+xml
समाज

कुलेखानी बाँधका गेट खोल्नुपर्ने जोखिम छैन : विद्युत् प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले कुलेखानी जलाशयको मुख्य बाँधका गेट खोल्नुपर्ने जोखिमपूर्ण अवस्था नरहेको बताएको छ।

बुधबार जारी गरेको सूचनामा मौसममा सुधार आएसँगै जलाशयको जलसतह बढ्ने दर न्यून रहेको र पूर्ण भण्डारण क्षमतासम्म अझै करिब ३ मिटर बाँकी रहेकाले गेट खोल्नुपर्ने अवस्था नरहेको प्राधिकरणले बताएको हो।

प्राधिकरणका अनुसार बुधबार बिहान ९ बजे कुलेखानी जलाशयको जलसतह एक हजार ५२७.१२ मिटर रहेको छ। जलाशयको पूर्ण भण्डारण क्षमता एक हजार ५३० मिटर रहेको छ।

यसअघि मौसम पूर्वानुमान महाशाखाले असोज ७ देखि ११ गतेसम्म अत्यधिक वर्षा हुन सक्ने विशेष मौसमी बुलेटिन जारी गरेको थियो। त्यसका आधारमा कुलेखानी जलाशयको जलसतह उच्च बिन्दुमा पुग्न सक्ने सम्भावनालाई ध्यानमा राखेर विभिन्न चरणमा सतर्कता र पूर्वतयारी गरिएको प्राधिकरणले बताएको छ।

जलाशयको जलसतह उच्चतम बिन्दुमा पुगेमा सुरक्षा र जलसतहको सन्तुलन कायम राख्न बाँधका मुख्य गेट खोल्नुपर्ने अवस्था आउन सक्ने भएकाले मुख्य ड्यामको तल्लो तटीय क्षेत्र सिस्नेरी खोला र बागमती नदी किनारमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने भन्दै असोज ११ गते एसएमएस अलर्ट र सूचना प्रवाह गरिएको थियो।

यस्तो छ प्राधिकरणले जारी गरेको सूचना
मौसम पूर्वानुमान महाशाखाले मिति २०८३/०६/०६ मा जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार मिति २०८३ असोज ७ गतेदेखि ११ गतेसम्म अत्यधिक वर्षा हुने आँकलनका आधारमा कुलेखानी जलाशयको जलसतह उच्चतम बिन्दुमा पुग्न सक्ने सम्भावनालाई दृष्टिगत गरी विभिन्न चरणमा आवश्यक सतर्कता तथा पूर्व तयारी गरिएको, जलाशयको जलसतह उच्चतम बिन्दुमा पुगेमा जलाशयको सुरक्षा र जलसतहको सन्तुलन कायम राख्न बाँधका मुख्य गेटहरू खोलिनुपर्ने  बाध्यात्मक सम्भावनालाई दृष्टिगत गरी मुख्य ड्यामको तल्लो तटीय क्षेत्र (सिस्नेरी खोला/बागमती नदी किनार) मा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने अवस्थाले सतर्कताको लागि मिति २०८३ असोज ११ गते एसएमएस अलर्ट (SMS Alerts)  र सूचना प्रेषित गरिएको ब्यहोरा अनुरोध छ।
कुलेखानी जलाशयमा आज मिति २०८३/०६/१४, बिहान ९ः०० बजे जलसतह १५२७.१२ मिटर रहेको छ |  मौसममा आएको सुधार, जलसतहको न्यून वृद्धिदर तथा जलाशयको पूर्ण भण्डारण क्षमता जलसतह १५३० मिटर पुग्न करिब ३ मिटर वाकी नै रहेको अवस्थालाई समेत दृष्टिगत गर्दा बाँधको मुख्य गेटहरू खोल्नुपर्ने जोखिमपूर्ण अवस्था नरहेकोले, चेतावनीको साइरन नबजाइएको ब्यहोरा जानकारी गराइन्छ  |  
मौसम प्रतिकूल भई अप्रत्याशित भारी वर्षा भई जलसतह वृद्धिदर तीव्र हुने परिस्थिति सिर्जना भएमा सूचना/आपत्कालीन साइरन/एसएमएस अलर्ट प्रवाह गरिने ब्यहोरा अनुरोध छ। 
कुलेखानी जलाशयमा मिति २०८३ असोज ७ गते देखि ११ गतेसम्म भएको वर्षाको जोखिम न्यूनीकरणको पूर्व तयारी र अवस्थाको सूचना प्रवाह, सहयोग र समन्वय गरिदिनु भएकोमा जिल्ला प्रशासन कार्यालय, मकवानपुर, सम्बन्धित स्थानीय तहहरू, जिल्ला विपद् व्यवस्थापन समिति, मकवानपुर जिल्लाका चार वटै सुरक्षा निकायहरू, पत्रकार / मिडियाकर्मी, स्थानीय संघ/ संस्था तथा  स्थानीयवासी सबैलाई आभार व्यक्त गर्दछौ | 

प्रकाशित: १४ आश्विन २०८३ १२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App