१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

नारायणगढ-मुग्लिन सडकमा सधैं ढुंगा खस्ने त्रास

फाइल तस्बिर

नारायणगढ-मुग्लिन सडकखण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार गरिएको हुँदा सधैं पहिरो र ढुंगा खस्ने जोखिम हुने गर्छ। समयसमयमा पहिरो र ढुंगा खसेर भएका मानवीय क्षति धेरै छन्।  

पछिल्ला वर्षहरूमा सडक विस्तार, पुल निर्माण र पहिरो रोकथामको काम भएसँगै पहिलेको तुलनामा जोखिम कम भए पनि ढुंगा खस्ने समस्या भने छ। डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार सबैभन्दा बढी समस्या देखिएको तुइन खोलामा ठूलो ढुंगा झारिएको छ। सँगै साना ढुंगा झारिएको भए पनि अझै सो क्षेत्र जोखिमपूर्ण छ।  

उनले भने, ‘यो ठाउँमा रकनेटिङ गर्नका लागि छलफल भइरहेको छ,’ झन्डै १६ मिटर माथिबाट अत्यन्तै जोखिममा रहेको ठूलो ढुंगालाई लङबम एक्साभेटरको सहयोगमा झारिएको हो। सोही सडकको लामो बालुवा पुल आसपास क्षेत्रमा ढुंगा खस्ने जोखिम छ। सोही क्षेत्रमा ढुंगा खसेर केही समयअघि एक जना चालकको मृत्यु पनि भएको थियो। घिमिरेका अनुसार सडकको सात सय मिटर जति क्षेत्रमा जोखिम बढी छ। सो क्षेत्रको केही भित्तो काटिएको थियो।  

यस्तै जोखिम जलवीरेमा छ। झन्डै एक सय मिटर क्षेत्रमा साना ढुंगा खस्ने जोखिम छ। नाम्सी पुल क्षेत्रमा भित्तो काटिएको हुँदा ढुंगा खस्ने जोखिम छ। एक सय मिटर जति क्षेत्र जोखिममा रहेको घिमिरेले जानकारी दिए।  

तुइन खोला नजिकैको क्षेत्र पनि जोखिममा छ। साठी मिटर हाराहारी क्षेत्रमा ढुंगा खस्ने जोखिम छ। सो क्षेत्रमा सडक विस्तार गर्दा हल्का भित्तो काटिएको थियो। केही वर्षअघि यो सडक विस्तार गर्दा ठाउँठाउँमा भित्तो काटिएको थियो। ती क्षेत्रमा रकनेटिङ, बायो इन्जिनियरिङलगायत प्रविधि प्रयोग गरेर पहिरो र ढुंगा खस्ने समस्या रोकथाम गरिएको हो। घिमिरेले भने, ‘पहिले रोकथामको काम गरेका ठाउँमा समस्या छैन, नयाँ ठाउँमा समस्या देखिएको छ।’ ती समस्या समाधानका लागि कार्यालयले विभागमा लेखी पठाएको छ।  

कार्यालय प्रमुख नारायण लामिछानेले जोखिम बढी देखिएका ठाउँमा रकनेटिङलगायतका काम गर्नुपर्ने आवश्यकता औंल्याए। विभागसँग परामर्श गरेर काम अघि बढाइने उनको भनाइ छ। वर्षातको समयमा सडक जोखिमपूर्ण भएकाले यात्रा गर्दा सावधानी अपनाउनुपर्ने उनको सुझाव छ।  

कार्यालयले ढुंगा र पहिरो खस्न सक्ने जोखिम भएकाले मुग्लिनमा एउटा लोडर तयारी अवस्थामा राखेको छ। यस्तै सेतीदोभानमा लोडर, जेसिभी एक्साभेटर, ट्रकटेलर, टिपर तयारी अवस्थामा राखेको छ। उनको भनाइअनुसार नाली बन्द हुन नदिन मिनी एक्साभेटर र आवश्यक जनशक्ति सडकमा नियमित परिचालन गरिएको छ। रासस

प्रकाशित: २० श्रावण २०८२ १०:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App