मुस्ताङ जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि शनिबारसम्म गण्डकी प्रदेशका विभिन्न स्थानमा वर्षा, हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान र उक्त अवधिमा सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुने सम्भावना छ। केही स्थानमा भने भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको प्रशासनले जनाएको छ।
मौसम प्रतिकूल हुँदा चिसो बढ्नुका साथै जोखिमयुक्त स्थान र सडक आसपास पहिरो जान सक्ने चेतावनी दिइएको हो। यसबाट सडक तथा हवाई यातायात प्रभावित हुनुका साथै दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न प्रशासनले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबैलाई मौसमसम्बन्धी सूचना नियमित रूपमा हेर्न, जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न र सम्भावित विपद्बाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित: ११ कार्तिक २०८३ ०८:०२ बुधबार





