मंसिर महिनाको बिहानको घामले अझै चिसो पगाल्न सकेको छैन। जुम्लासहित कर्णालीका हिमाली गाउँहरूमा सेतो कुहिरो र चिसो हावा त्यसैगरी बगिरहेका छन्।
घर–घरमा भान्साबाट उठ्ने धुवाँले मात्र संकेत गर्छ, हिउँद सुरु भइसकेको छ। जल तथा मौसम फिल्ड कार्यालय जुम्लाका फिल्ड इन्चार्ज असमपुरा कार्कीका अनुसार, जुम्लाको तापक्रम माइनस ४ दशमलव ९ डिग्रीमा झरेको छ । जसले जुम्लामा चिसोसँग जुध्नु बाध्यतासँगै चुनौती पनि बनेको छ ।

तर हिउँ पर्नुअघि एक समूह छ जो दिनदिनै जंगल धाउँदै दाउरा जोहो गरिरहेका छन् । सिँजा गाउँपालिका -६ की लालसरा बुढा बिहानको धुलो-धुनसहित दाउरा यात्रा सुरु गर्छिन्। उकालो तीन घण्टाको यात्राले जंगल पुग्छिन । भन्छिन्, ‘दाउरा बालेर मात्र चिसो काटिन्छ । हिउँ लगत्तै बाटो बन्द हुन्छ। दाउरा नहुँदा घर तातिँदैन, बच्चा पनि कष्टै–कष्ट बस्नुपर्छ।’
जुम्लाको जाडो शरीरभन्दा आत्मालाई पनि ठुट्याउँछ। तर,दाउरा बिनाको घर त सबैभन्दा कठोर-त्यही नघट्ने सत्य महिलालाई जति थकाइ आए पनि जंगल धान्न बाध्य बनाउँछ।

जंगलमा पुगेपछि उनीहरू समूह–समूहमा दाउरा खोज्छन्, सुकाएका हाँगा उठाउँछन्, काटिएका दाउराहरू थुपार्छन्। थुप्रो भरिएपछि जो संग घोडा-खच्चड छ, उनीहरूले ओसार्छन् । बाँकीले भने भारी डोको पिठ्युँमा बाधेर झन् खतरनाक ओरालो यात्रा सुरु गर्छन्।
घरमा ६–८ महिनाका बालक चिसोले थर्किँदै बसिरहेका बेला उनकी आमाहरू जंगलमा दाउरा खोजिरहेको दृश्य-हिउँदको कठोर यथार्थ हो।
‘छोराछोरीलाई घरमा अरूकै भरमा राखेर जानुपर्छ। तर,दाउरा नल्याई बस्न पनि सकिन्न,’ अर्की पूर्णीमा बुढा बताउँछिन्। जाडोमा महिलाले दाउरा बोक्ने मात्र होइन, घर आगो ताप्ने जिम्मा, पशु-चौपायाको हेरचाह, खाना पकाउने–लाउने सबै काम दोहोरो रूपमा निभाउनुपर्छ। जुम्लामा सुकेका दाउरा टिप्ने चलन पुरानो हो। गाउँका मुख्य टोली र वन उपभोक्ता समितिको समन्वयमा हिउँदयाममा मात्र दाउरा संकलन खुला गरिन्छ।

समूहमा १०-१५ महिलाहरू कसैको पन्जा च्यातिएको, कसैको जुत्ता टालटुल जोडिएको सबैको लक्ष्य एउटै,हिउँद कटाउने दाउरा सुरक्षित रूपमा घरसम्म ल्याउनु हो। पुस लाग्दै गएपछि यहाँका चौर गोठ हिउँले पुरिन थाल्छन्। गाई–भैँसी, भेडा–बाख्रा करीब दुई महिनाभन्दा बढी घरमै राख्नुपर्ने चलन छ। चरन नहुनु, नदी–नालामा बरफ जम्नु र पानी पिउन हातले बरफ फुटाउनुपर्ने अवस्थाजुम्लाका हिउँदका गाह्रो पाटाहरू हुन्।
यसबीच महिलाले दाउरा मात्र बोक्दैनन्, गोठालो पनि गर्छन्, घरका सबै आगन-भान्सा सम्भाल्छन्।चिसो तिव्र भएसँगै बजारमा दाउरा बिक्री गर्ने क्रम पनि सक्रिय हुने गरेको छ। खेतीपाती सकिनेबित्तिकै ग्रामीणहरू दाउरा काट्न, ओसार्न र बजारमा बेच्न थाल्छन्। स्थानीय सृजना बुढा भन्छिन्, ‘जसको घरमा दाउरा छैन, उसको घर कहिल्यै तात्दैन। दाउराले नै जाडो काटिन्छ।’

दाउरा अहिले ऊर्जा मात्रै होइन्। जुम्लेलीको जनजिवनको अस्तित्व हो। जुम्लामा हिउँद चिसोको मौसम मात्र होइन, महिलाको सक्रियता, श्रम र सहनशीलताको निर्णायक परीक्षा पनि हो।
दाउरा संकलनको यात्रामा उनीहरूले भोग्ने दु:ख, बोकेका भारी र भोगेका चिसो-देशको मुख्य सडकबाट देखिंदैन। तर, यही चिसो भित्र छिपिएको छ। उनीहरूको जीवन–संघर्ष, जसले जुम्लालाई टिकाइरहेको छ। दाउरा बोक्दै उकालो–ओरालोका पन्थहरू पार गर्ने ती महिलाहरू जुम्लाको जाडोलाई जित्ने पहिलो शक्ति हुन्।
हिउँदको कठोरता वर्षेनि उस्तै हुन्छ,तर,महिलाको साहस र श्रम भने हरेक वर्ष अझ गहिरो, अझ उज्यालो।

प्रकाशित: ७ मंसिर २०८२ २१:१३ आइतबार





