१५ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

बाढीले अभिभावक खोसेका पाँच बालबालिकाको १८ वर्षसम्म राज्यले हेरचाह गर्ने

विनाशकारी बाढीमा दुई दाजु गुमाएपछि पाँच जना भतिज–भतिजीको पालनपोषण र भविष्यको चिन्तामा रहेका सोनाम घोलेलाई सरकारले राहत दिएको छ। बाढीका कारण अभिभावक गुमाएका पाँचै बालबालिकाको दीर्घकालीन स्याहार राज्यले गर्ने भएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको टोली सोनामको घरमै पुगेर बालबालिकाको अवस्था र परिवारको परिस्थितिबारे जानकारी लिएको थियो। मन्त्रालयले पाँचै बालबालिकालाई ‘बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहार योजना’मा समेटेको छ।

मजदुरीका लागि नुवाकोट पुगेका सोनामका दुई दाजु बाढीपछि बेपत्ता भएका थिए। दुवै दाजुकी श्रीमतीको यसअघि नै मृत्यु भइसकेको थियो। त्यसपछि उनीहरूका चार जना छोराछोरी र गाउँमा रहेका थप एक जना गरी पाँच बालबालिकाको जिम्मेवारी सोनामको काँधमा आएको थियो।

आफ्नै परिवार पाल्न कठिन भइरहेको अवस्थामा पाँच बालबालिकाको शिक्षा, खानपान र भविष्य सुनिश्चित गर्ने जिम्मेवारी थपिएपछि सोनाम चिन्तित थिए। यही अवस्थामा मन्त्रालयको पहलमा बालबालिकालाई अस्थायी संरक्षण केन्द्रमा लगेर आवश्यक संरक्षण तथा मनोसामाजिक परामर्शसमेत दिइएको थियो।

दीर्घकालीन स्याहार योजनाअन्तर्गत आर्थिक सहयोग गर्ने एमआईटीजीएफका प्रतिनिधि तथा राष्ट्रिय बाल अधिकार परिषद्का कर्मचारी सोनामको घरमै पुगेर आवश्यक प्रक्रिया पूरा गरी बालबालिकालाई कार्यक्रममा आबद्ध गरेका छन्।

योजनाअनुसार अब पाँचै बालबालिकाले १८ वर्षको उमेरसम्म शिक्षा, पालनपोषण र आवश्यक हेरचाहका लागि राज्यबाट सहयोग पाउनेछन्। अभिभावक गुमाएका बालबालिकाको संरक्षणलाई तत्कालीन राहतमा सीमित नराखी उनीहरूको शिक्षा, विकास र भविष्य सुनिश्चित गर्ने उद्देश्यले योजना अघि बढाइएको मन्त्रालयले जनाएको छ।

सोनामले बालबालिकाको भविष्यबारे रहेको आफ्नो मुख्य चिन्ता हटेको बताए। सरकारले शिक्षा, पालनपोषण र हेरचाहको जिम्मेवारी लिने भएपछि आफूलाई ठूलो राहत मिलेको उनको भनाइ छ।

बाढीले दुई दाजु गुमाएका सोनामको परिवारमा पाँच बालबालिका अभिभावकविहीन बने पनि उनीहरूको शिक्षा र भविष्य अब राज्यको दीर्घकालीन संरक्षण योजनासँग जोडिएको छ।

प्रकाशित: १५ आश्विन २०८३ १९:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App