१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

छतमाथिको जहाज र अधुरो उडान

जुम्लाका टक्कबहादुर, जसले अभावभित्रै विज्ञानको सपना जोगाइरहे

कर्णाली राजमार्ग हुँदै जुम्लाको तातोपानी गाउँपालिका-६ हियाँखोला पुग्ने यात्रुहरू अचानक एउटा घरअगाडि रोकिन्छन्।

सडकछेउको त्यो घर अरू घरजस्तो छैन। तल सामान्य पसल छ, तर माथि नेपाली झण्डा अंकित जहाज राखिएको छ। पहिलो नजरमा त्यो दृश्य अनौठो लाग्छ। दोस्रो नजरमा जिज्ञासा पैदा गर्छ। अनि मनमा प्रश्न उठ्छ, ‘घरमाथि जहाज किन बनाइएको होला ?’

तर त्यो जहाज केवल सिमेन्ट, बालुवा र सरियाले बनेको संरचना होइन। त्यो एउटा संघर्षको कथा हो। एउटा यस्तो मान्छेको सपना हो, जसले जीवनभर अभाव, असफलता र बेवास्तासँग लड्दै पनि सपना देख्न छाडेन। त्यो जहाज हो टक्कबहादुर नेपालीको अधुरो उडान।  

गाउँको बालक, जसले खेलौनाभन्दा मेसिन बनायो

तातोपानी गाउँपालिका–५ लाम्रामा वि.सं. २०४० सालमा जन्मिएका टक्कबहादुर बाल्यकालदेखि नै अरूभन्दा फरक स्वभावका थिए। गाउँका बालबालिका खेल्थे, उनी भने काठ र माटोबाट गाडी, हेलिकप्टर र प्लेन बनाउँथे।

विज्ञानप्रतिको मोह उनको बालापनमै देखिन्थ्यो। तर त्यो प्रतिभा विद्यालयको नतिजामा देखिएन। पढाइमा धेरै मन नलाग्ने उनी वि.सं. २०५८ सालको एसएलसी परीक्षामा अनुत्तीर्ण भए। दोस्रो प्रयासमा मात्रै परीक्षा पास गरे।

त्यो असफलताले समाजको नजरमा उनलाई ‘कमजोर विद्यार्थी’ बनायो। तर जीवनले भने उनलाई फरक दिशातर्फ धकेलिरहेको थियो।

घरको आर्थिक अवस्था कमजोर थियो। जेठो छोरा भएकाले जिम्मेवारी चाँडै काँधमा आयो। उच्च शिक्षा पढ्ने सपना गरिबीले बीचमै रोकिदियो।

‘कर्णालीमा धेरै सपना अभावले मर्छन्, क्षमता नभएर होइन,’ भन्ने कुरा उनले त्यतिबेलै बुझ्न थालेका थिए।

मलेसियाको पीडा र फर्किएको सपना

जीवन धान्न उनले नेपालगञ्ज पुगेर हाउस वायरिङ तालिम लिए। त्यसपछि गाउँका हजारौं युवाजस्तै विदेशको सपना बोकेर वि.सं. २०६२ सालमा मलेसिया पुगे।

तर मलेसियाले उनलाई सुनौलो भविष्यभन्दा कठोर यथार्थ देखायो।

गाडीका पार्टपुर्जा बनाउने कम्पनीमा प्रोडक्सन असिफरको काम गरेका उनलाई मासिक ४१० रिंगेट तलब दिइन्थ्यो। ओभरटाइम गर्दा कहिलेकाहीँ हजार रिंगेट पुग्थ्यो। तर कमाइभन्दा ठूलो थियो त्यहाँको पीडा।

साँघुरो कोठा, थकित शरीर, सम्झौताभन्दा फरक काम, मानसिक दबाब र निरन्तरको थकान।

‘त्यो जीवन मैले सोचेको जस्तो थिएन,’ उनी सम्झिन्छन्, ‘त्यहाँ मानिसभन्दा मेसिनको मूल्य बढी थियो।’

एक वर्षमै उनी नेपाल फर्किए। विदेशले धेरै पैसा दिएन, तर एउटा गहिरो चेतना दियो—‘आफ्नै माटोमा पसिना बगाउनु विदेशको पीडाभन्दा सानो होइन।’

विज्ञान पढाउने शिक्षक, जसले भोटिङ मेसिन बनायो

नेपाल फर्किएपछि उनले शिक्षक बन्ने बाटो रोजे। सेतीबाडा निमाविमा विज्ञान पढाउन थाले। योग्यता एसएलसी मात्रै भएकाले सरकारी शिक्षक बन्न सकेनन्। निजी कोटाबाट सामान्य शिक्षक बने।

तर उनी किताब घोकाएर पढाउने शिक्षक थिएनन्। विज्ञानलाई छुन, बनाउन र प्रयोग गर्न सकिन्छ भन्ने विश्वास राख्थे।

त्यही क्रममा उनले विद्युतीय भोटिङ मेसिन बनाए। गाउँमै बनेको त्यो मेसिनले जुम्लाभर चर्चा पायो। सञ्चारमाध्यममा समाचार बन्यो। तत्कालीन लाम्रा गाविसले १० हजार रुपैयाँसहित सम्मान गर्‍यो। जिल्ला विकास समितिले पनि प्रशंसा गर्‍यो।

त्यसपछि उनी मेसिन बोकेर काठमाडौं पुगे। निर्वाचन आयोगले परीक्षण गरेर राम्रो भएको प्रतिक्रिया दियो। उनलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान पठाइयो।

तर त्यहाँ पुग्दा उनले अर्को ठूलो निराशा भोग्नुपर्‍यो। उक्त प्रविधिको पेटेन्ट भारतसँग रहेको जानकारी पाएपछि उनको सपना फेरि रोकियो।

‘त्यो बेला यस्तो लाग्यो, मेरो सपना कसैले बीच बाटोमै खोसेर लगिदियो,’ उनी भन्छन्।

असफलताबीच पनि नरोकिने प्रयोग

त्यसपछि पनि उनी रोकिएनन्। त्रिपुरेश्वरस्थित घरेलु तथा साना उद्योग कार्यालयमा बसेर विभिन्न प्रयोग गरिरहे।

क्याप टोपीमै सोलार राखेर मोबाइल चार्ज हुने प्रणाली बनाए। साइकल चलाउँदा चार्ज हुने डायनामा तयार गरे।

तर ती उत्पादनले बजार पाएनन्। धेरै मानिस असफलतासँगै सपना त्याग्छन्, तर टक्कबहादुर असफलतालाई सिकाइ ठान्थे।

युट्युब हेरेर बनाएको प्याराग्लाइडिङ

पछि उनले अझ असम्भवजस्तो सपना देखे, उड्ने सपना।

वि.सं. २०७४ सालमा उनले युट्युब हेरेर प्याराग्लाइडिङ बनाए। गाउँमा धेरैले पत्याएनन्। कतिले हाँसे। कतिले ‘यो सम्भव छैन’ भने।

तर परीक्षण सफल भयो।

त्यो दिन केवल एउटा मेसिन मात्रै उडेन, उनको आत्मविश्वास पनि उड्यो।

उनले राष्ट्रिय युवा प्रतिभा पुरस्कार पाए। विभिन्न निकायबाट झन्डै सात लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘उद्यमी राष्ट्रिय पुरस्कार’ प्रदान गर्‍यो।

तर फेरि उही समस्या दोहोरियो, व्यावसायिक उडान अनुमति पाएनन्।

अहिले उनले बनाएको प्याराग्लाइडिङ घरमै थन्किएको छ। ठ्याक्कै कर्णालीका धेरै सपनाजस्तै, जहाँ प्रतिभा हुन्छ, तर प्रणाली हुँदैन। जहाँ क्षमता हुन्छ, तर पहुँच हुँदैन।

छतमाथिको जहाज : सपनाको प्रतीक

सायद त्यसैले अहिले उनले आफ्नै घरको छतमाथि जहाज बनाएका छन्। त्यो जहाज व्यवसायका लागि होइन। त्यो एउटा प्रतीक हो। उनको जीवनको घोषणापत्र हो।

‘मानिसहरूले प्लेन भएको घर भनेर चिनून् भन्ने पनि हो,’ उनी मुस्कुराउँदै भन्छन्, ‘तर यो मेरो कला हो, मेरो सपना हो।’

आज त्यो घर कर्णाली राजमार्ग हुँदै यात्रा गर्नेहरूका लागि फोटो खिच्ने ठाउँ बनेको छ। मानिसहरू त्यहाँ उभिएर टिकटक बनाउँछन्, भिडियो खिच्छन्।

तर कमैले बुझ्छन्, त्यो जहाज वास्तवमा उड्न नपाएका सपनाहरूको स्मारक हो।

अभावभित्र सम्भावना खोज्दै

टक्कबहादुरसँग न ठूलो डिग्री छ, न आधुनिक प्रयोगशाला। न राज्यको बलियो साथ छ, न ठूलो लगानी।

उनको सबैभन्दा ठूलो पूँजी भनेको जिद्दी मन हो, अभावसँग नझुकेको मन, असफलतासँग नथाकेको मन र बारम्बार भाँचिएपछि पनि फेरि सपना देख्न सक्ने मन।

कर्णालीमा धेरै मानिस गरिबीभित्र बाँचिरहेका छन्। तर टक्कबहादुर नेपाली भने गरिबीभित्र पनि सम्भावना खोजिरहेका छन्।

प्रकाशित: ३ जेष्ठ २०८३ २०:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App