२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

अनुमानजस्तो ठूलो बाढीको जोखिम टर्‍यो, तर स–साना नदीमा आकस्मिक बाढीको खतरा कायमै

जल तथा मौसम विज्ञान विभागले यसअघि जारी गरिएको विशेष मौसमी बुलेटिनअनुसार अनुमान गरिएको स्तरको ठूलो बाढीको जोखिम नदेखिएको जनाएको छ। यद्यपि आज र भोलि देशका विभिन्न जिल्लाका स–साना नदीमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

विभागले शनिबार विशेष मौसमी बुलेटिन जारी गर्दै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने तथा त्यसका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने पूर्वानुमान गरेको थियो।

सोही आधारमा पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लालाई उच्च जोखिममा राख्दै विशेष बुलेटिन जारी गरिएको थियो।

विभागका बाढीविद् सौहार्द जोशीका अनुसार वास्तविक वर्षाको अवस्था र पूर्वानुमानको विश्लेषण गर्दा अपेक्षा गरिएको स्तरको ठूलो बाढीको जोखिम देखिएन।

‘अति भारी वर्षाको सम्भावना भनिए पनि भारी वर्षा एक–दुई स्थानमा मात्रै भयो। वर्षा एउटै क्षेत्रमा केन्द्रित नभई छरिएर भएकाले हामीले प्रक्षेपण गरेअनुसार ठूलो बाढीको जोखिम आएन। तर आज र भोलि केही स–साना नदीमा आकस्मिक बाढीको जोखिम भने कायम छ,’ उनले भने।

जोशीका अनुसार आज बिहान गरिएको मापनमा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरू, साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ।

यद्यपि झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका क्षेत्रबाट बग्ने स–साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

प्रकाशित: ३ श्रावण २०८३ १७:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App