१ असार २०८३ सोमबार
image/svg+xml
समाज

इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न महानिरीक्षक कार्कीको निर्देशन

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई पूर्ण व्यावसायिक, जनमुखी र इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।

बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा निर्देशन सम्बोधन गर्दै उनले नवीन सोच र सिर्जनशील भई कार्यसम्पादन गर्न आग्रह गरे।

संगठनको शुद्धीकरण र सुदृढीकरणलाई प्राथमिकतामा राखेर श्रीवृद्धिमा योगदान पुग्ने गरी काम गर्नुपर्नेमा उनको जोड थियो।

प्रहरी महानिरीक्षक कार्कीले शून्य सहनशीलताको नीति अवलम्बन गर्न कडा निर्देशन दिए। प्रविधिको अधिकतम प्रयोग गर्दै पारदर्शी, समयसापेक्ष र नागरिकमैत्री सेवा प्रवाह गरी नतिजामुखी कार्य गर्न उनले स्पष्ट पारे।

संगठनको नीति निर्देशन कार्यान्वयन गर्दै लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारी थप सक्रिय हुनुपर्ने उनको भनाइ छ। सबै कर्मचारीहरू चेन अफ कमाण्ड भित्र रहेर सामूहिक प्रयासमा केन्द्रित हुनुपर्ने उनले बताए।

मातहतका कर्मचारीको क्षमता विकास र गुनासोको उचित व्यवस्थापन गरी उदाहरणीय नेतृत्व प्रस्तुत गर्न उपस्थित अधिकृतहरूलाई उनले निर्देशन दिए।

विगतका कमीकमजोरी विश्लेषण गरी शान्ति सुव्यवस्था कायम गर्न उनले ध्यानाकर्षण गराए। अपराध नियन्त्रण, अनुसन्धान र विपद् व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्दै प्रभावकारी योजना र नीति बनाएर अघि बढ्न उनले आग्रह गरे।

यसअघि कार्यक्रममा मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषय र आगामी कार्यदिशाबारे निर्देशन दिएका थिए।

प्रकाशित: २० जेष्ठ २०८३ १५:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App