२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

खोटाङको खानीडाँडा-याम्खा-पञ्चमी सडक कालोपत्रे गर्ने प्रक्रिया सुरु

खोटाङको खानीडाँडादेखि याम्खा हुँदै पञ्चमीसम्मको सडक स्तरोन्नतिसहित कालोपत्रे हुने भएको छ। प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा पूर्वाधार विकास कार्यालय खोटाङले सो सडक स्तरोन्नतिसहितको कालोपत्रे गर्ने प्रक्रिया अघि बढाएको हो। 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खानीडाँडा विमानस्थलदेखि दिप्रुङ चुइचुम्मा गाउँपालिकाको याम्खा, रातमाटा हुँदै पञ्चमी बजारसम्मको १५ किलोमिटर सडकमध्ये आधा दूरीमा स्तरोन्नतिसहितको कालोपत्रे गर्न लागिएको हो। सो योजना यसै आर्थिक वर्षभित्र थाल्न ठेक्का प्रक्रिया सुरु भएको कार्यालयले जनाएको छ। 

खानीडाँडा-याम्खा-रातमाटा-पञ्चमी सडक कालोपत्रेको काम सकेसम्म छिटोभन्दा छिटो सम्पन्न गर्ने गरी ठेक्का प्रक्रिया सुरु भएको पूर्वाधार कार्यालय खोटाङका प्रमुख (डिई) विनम दाहालले बताए। खोटाङका लागि विनियोजित योजनामध्ये १६ वटाको बोलपत्र आह्वान भइसकेको जानकारी दिँदै दाहालले बाँकी योजनाहरूको टेन्डर पनि चाँडै खुल्ने तयारी भइरहेको बताए। मन्त्रालयले छिटो काम सुरु गर्न दिएको निर्देशन अनुसार भकाभक टेन्डर खुलिरहेको र काम चाँडै सुरु गर्ने योजना रहेको डिई दाहालले बताए। 

सदरमुकाम दिक्तेलदेखि दक्षिणी क्षेत्र जोड्ने खानीडाँडा-याम्खा रातमाटा-दिप्रुङ चुइचुम्मा-पञ्चमी सडक कालोपत्रका लागि ३० करोड रुपैयाँ लागतको बोलपत्र सूचना प्रकाशित भएको छ। सो योजनाका लागि पूर्वाधार विकास मन्त्रालयले २९ करोड ९९ लाख ८७ हजार ३ सय ८९ रुपैयाँको प्राविधिक इस्टिमेट बनाएको छ। जसबाट ८ किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रे गरिने भएको छ। 

खानीडाँडा-याम्खा रातमाटा-दिप्रुङ चुइचुम्मा-पञ्चमीसम्मको १५ किलोमिटर सडकका लागि मन्त्रालयले ६२ करोडको लागत इस्टिमेट गरेकोमा पहिलो चरणमा ३० करोडको स्रोत सुनिश्चित गरेर बजेट छुट्याइएको छ। सो बजेटले ८ किलोमिटर दूरी सडक ५० मिलिमिटर मोटाइ, ५ मिटर ५ सेन्टिमिटर चौडाइको अस्फाल्ट प्रविधिमा निर्माण गरिने दाहालले बताए। 

जिल्लाका दक्षिणी भेगका नागरिकलाई बाह्रैमास सदरमुकाम दिक्तेल आउजाउ गर्न सो सडक महत्त्वपूर्ण भएकाले कालोपत्रे गर्न लागेको भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईले बताए। राईका अनुसार खोटाङका दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्तेढुङ्गा र बराहापोखरी गाउँपालिकाबासी नागरिकका लागि दिक्तेल आउजाउ गर्ने यो सडक ‘लाइफ लाइन’ बन्ने छ। 

‘यो सडक दक्षिणका ४ स्थानीय तहबासी नागरिकका लागि दिक्तेल आउजाउ गर्न अत्यन्त महत्त्वपूर्ण भएकाले मैले विशेष चासो राखेको हुँ’ मन्त्री राईले भने ‘यो सडक कालोपत्रे भए यातायात सेवा मात्र होइन, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सामाजिक विकाससँगै नागरिकको हरेक अवयवमा यसले सकारात्मक प्रभाव पार्नेछ।’ 

खोटाङबाट प्रदेशसभा सदस्य निर्वाचित मन्त्री राईले भौतिक पूर्वाधार र स्वास्थ्य मन्त्रालयको जिम्मा पाएपछि आफ्नो जिल्लालाई केन्द्रमा राखेर बजेट विनियोजन गरेको दाबी गरेका छन्। खोटाङ धेरै बिकट जिल्ला भए पनि सरकारको नजर कहिल्यै नपरेको भन्दै उनले आफू मन्त्री भएपछि जिल्लाको विकास निर्माणमा अर्जुन दृष्टि लगाएर काम गरिरहेको दाबी गरे। 

‘यसअघि पनि खोटाङमा धेरै नेता जन्मे, चुनाव जितेर मन्त्री पनि भए तर जिल्लाको विकास निर्माणमा मिहिन ढङ्गले चासो दिएनन्’ मन्त्री राईले दाबी गरे ‘०७९ को चुनावमा जनताले मलाई प्रदेश सांसद जिताएर पठाए, पार्टीले पनि पत्याएर भौतिक पूर्वाधार तथा स्वास्थ्य गरी दुई मन्त्रालय दियो। मैले आफू जन्मेको र नागरिकले पत्याएको जिल्लाबासीको सेवा गर्न विकासमा धेरै पछाडि पारिएको जिल्ला भएकाले खोटाङलाई प्राथमिकता दिनु कर्तव्य ठानेर बजेट छुट्याएको छु।’ 

मन्त्री राईले चालु आर्थिक वर्ष ०८२/८३ मा खोटाङका सडक, पुल, भवनलगायत विभिन्न भौतिक पूर्वाधार संरचना निर्माणका लागि १ अर्ब २ करोड ५८ लाख २५ हजार रुपैयाँ विनियोजन गरेका छन्। मन्त्री भएर आफ्नो जिल्लालाई धेरै बजेट छुट्याएको भन्दै धेरै ठाउँबाट आलोचना आए पनि त्यस्ता कुराप्रति कुनै गुनासो नभएको उनको भनाइ छ। 

मन्त्री भएपछि एउटा बजेट छुट्याउन पाउँदा खोटाङका लागि १६ वटा पूर्वाधार विकासका योजना सञ्चालन गर्न ८२ करोड ७९ लाख ५५ हजार बजेट विनियोजन गरिदिएको उनले गर्वसाथ बताए। पछि परेको जिल्लालाई उकास्ने, जिल्लाबासीको नाताले गर्ने कर्तव्य पूरा गर्न खोजेको उनको भनाइ छ। 

चालु आर्थिक वर्ष ०८२/८३ मा भौतिक पूर्वाधार मन्त्रालयले सडक कालोपत्रेदेखि नेपाल पत्रकार महासंघ खोटाङको भवनसम्मका लागि बजेट छुट्याएको छ। महासंघ भवनका लागि ३ करोड, बङ्सिलाघाट बेलिब्रिजका लागि १ करोड, दिक्तेल बजार ढलान १ करोड, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ को सडक स्तरोन्नति १ करोड, दिक्तेल रुपाकोट मझुवागढी नगर ४ को खाल्लेदेखि हलेसी तुवाचुङ नगर ११ सडक खण्डमा पर्ने दिखुवा खोलामा पुल बनाउन ३ करोड बजेट छुट्याइएको छ। 

त्यसैगरी दिक्तेलकै कारागारदेखि ढाँडेखोला हुँदै निगाले-सिद्धेश्वरी आवि भएर पुष्पलाल मध्यपहाडी लोकमार्ग जोड्ने सडक स्तरोन्नति १ करोड विनियोजन गरिएको छ। त्यसैगरी दिक्तेलकै बैंकचौक-झिसेपू सडक २५ लाख, दिक्तेल-सोल्मा-पाथेका-खार्तम्छा-फेदी सडक ५० लाख, दिक्तेल १ हाटडाँडा-हलेसी एफएम-कालिका भगवती सडक स्तरोन्नति १ करोड छुट्याइएको छ। 

तापखोला सडक पुल बनाउन ८ करोड ६८ लाख ४९ हजार, रुवाफेदी बुवाखोला पक्की पुल २५ करोड ६९ लाख ६० हजार, कुभिण्डे-लोचाखोला पुल ५ करोड ११ लाख ४६ हजार विनियोजन गरिएको छ। त्यसैगरी बिपी स्मृति भवन निर्माण १ करोड, देवीस्थान एकता समाज दिक्तेल भवन ३० लाख, खोटाङ उद्योग वाणिज्य संघ भवन २५ लाख विनियोजन गरिएको काम गर्न ठेक्का प्रक्रिया सुरु भइसकेको छ। 

राई मन्त्री भएपछि खोटाङको विकासमा कायापलट ल्याउने गरी पहिलो पटक धेरै बजेट छुट्टिएको जिल्लावासीले बताए। पत्रकार महासंघ खोटाङका पूर्व अध्यक्ष दिलिप खत्रीले यसअघि खोटाङबाट धेरैजना सांसद, मन्त्री, सचिवलगायत उच्च ओहदामा पुगे पनि जिल्लालाई हेर्ने दृष्टिकोण यत्तिको फराकिलो नभएको बताए। राई नै यस्ता व्यक्ति हुन् जसले पहिलो पटक मन्त्री हुँदा पार्टीभित्रैबाट आलोचना भए पनि आफ्नो जिल्लाको विकास निर्माणमा आँखा चिम्लेर बजेट छुट्याइदिएको खत्रीको भनाइ छ।  

‘खोटाङ पहाडी र बिकट जिल्ला भए पनि धेरै नेता, मन्त्री र उच्च पदस्थ कर्मचारी जन्माउने जिल्ला हो’ अर्का बौद्धिक इन्द्रबहादुर राईले भने ‘तर ठूला मान्छे भए, ठूलो पद पाए, जिल्लालाई भने चाहेजस्तो र गर्न सक्ने गरी केही गरेनन्। भूपेन्द्र राई मन्त्री भएपछि नै हो यत्ति धेरै योजना खोटाङलाई पहिलो पटक परेको।’ जिल्लावासीलाई माया गर्ने, विकास निर्माणमा ध्यान दिने र जनताको खाँचो गाह्रो टार्ने व्यक्ति जुनसुकै पार्टीको होस्, खोटाङेहरूको माया पाइरहने उनले बताए। 

प्रकाशित: ३ मंसिर २०८२ १०:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App