फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि ताप्लेजुङमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।
ताप्लेजुङ जिल्ला अदालत परिसरमै स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश विकास श्रेष्ठले उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकृत श्रेष्ठले फागुन २१ गतेका लागि तय भएको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न मुख्य अधिकृतको कार्यालय तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे। उनले निर्वाचन आचार संहिताको पालनामा सरोकारवाला पक्ष पूर्ण रूपले प्रतिबद्ध र अनुशासित हुनुपर्नेमा जोड दिए।
पछिल्ला दिनहरूमा निर्वाचन आचार संहिताको उल्लंघनमा विद्युतीय माध्यमको गलत प्रयोग भइरहेको भन्दै यसविरुद्ध चनाखो भइदिन र निर्वाचन आचार संहिताको पूर्ण पालनामा इमान्दार बन्न उनले आग्रह गरेका छन्। प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले तोकिएको जिम्मेवारी पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताए। उनले सुरक्षाको विषय सम्बन्धित निकायले प्रत्याभूत गराउने भन्दा पनि आम नागरिकले अनुभूत गर्ने विषय भएकाले निर्वाचनका सरोकारवालाले सुरक्षाको पूर्ण अनुभूत गर्ने गरी सुरक्षा प्रदान गर्न आफूहरू तयार रहेको बताए।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासंगै शुक्रबारबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा खटिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासंगै कार्यालयबाटै शुक्रबारबाट निर्वाचनका अरू कार्यक्रम र कार्यतालिका प्रकाशित गरिने सहायक निर्वाचन अधिकृत तथा जिल्ला अदालतमा श्रेस्तेदार शम्मीकपुर शाहले बताए।
९० हजार ३ सय २७ मतदाता रहेको ताप्लेजुङमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एक निर्वाचन क्षेत्र हो। यहाँ ८० मतदानस्थल र १ सय २७ मतदान केन्द्र रहेका छन्। २०७० सालको संविधानसभाको निर्वाचन यताका सबै निर्वाचनहरूमा ताप्लेजुङ जिल्ला अदालत परिसरमै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै आएको छ। मतगणना समेत मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमै हुने गरेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्का, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतम, सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठक, प्रमुख अनुसन्धान अधिकृत श्रीभजन राय, कोष नियन्त्रक यमनाथ गिरी, जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठ, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङका प्रमुख अजयकुमार झासहितको उपस्थिति रहेको थियो।
प्रकाशित: २ माघ २०८२ १३:२८ शुक्रबार





