पुनर्निर्माणपछि सञ्चालनमा आएको ऐतिहासिक धरहरामा पछिल्ला दिनहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ। विशेषगरी साँझपख बत्तीले झिलिमिली बनेको धरहरा अवलोकन गर्न र तस्बिर खिच्न आउनेहरूको भीड देखिन्छ ।
धरहरा अहिले राजधानीको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। अवलोकन टावरमा पुग्ने आगन्तुकले काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्नुका साथै परिसरमा घुमफिर गर्दै तस्बिर र भिडियो खिचिरहेका देखिन्छन्।
विदेशी पर्यटकसँगै विभिन्न जिल्लाबाट आएका आन्तरिक पर्यटक, विद्यार्थी, युवा र परिवारसहितका आगन्तुकले पनि धरहरालाई घुमफिरको रोजाइमा राख्न थालेका छन्। बिदाका दिन तथा साँझको समयमा अवलोकनकर्ताको संख्या अझ बढ्ने गरेको छ।

विसं २०७२ सालको विनाशकारी भूकम्पले ढालेको ऐतिहासिक धरहरा आधुनिक प्रविधि र भूकम्प प्रतिरोधी संरचनासहित पुनर्निर्माण गरिएको हो। पुरानो ऐतिहासिक स्वरूपको मौलिकता जोगाउँदै निर्माण गरिएको नयाँ धरहरा सांस्कृतिक सम्पदा, आधुनिक पूर्वाधार र पर्यटन प्रवर्द्धनको प्रतीकका रूपमा परिचित बन्दै गएको छ।
साँझको सुनौलो आकाश, झिलिमिली बत्ती र अवलोकनकर्ताको चहलपहलले धरहरालाई राजधानीको आकर्षक शहरी जीवन र पर्यटन गतिविधिको केन्द्रका रूपमा थप स्थापित गरिरहेको छ।









तस्बिर : प्रेम थापा
प्रकाशित: १३ असार २०८३ ११:०३ शनिबार



-600x400.jpg)

