२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

नेपालमा राष्ट्रिय निकुञ्जको संख्या १३ पुग्यो

नेपाल सरकारले मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिकामा ‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’ स्थापना गर्ने निर्णय गरेको छ।  

आज बसेको मन्त्रिपरिषद् बैठकले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा सो निर्णय गरेको वनमन्त्री ऐनबहादुर शाही ठकुरीले जानकारी दिए। मुगुमा २०३२ सालमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको करिब ५० वर्षपछि वनमन्त्री शाहीको पहलमा सरकारले दोस्रो छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको हो। उक्त राष्ट्रिय निकुञ्ज नेपालकै कान्छो निकुञ्जका रूपमा चिनिने भएको छ।  

डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फु क्षेत्रको करिब ९०६ वर्गकिलोमिटर भू–भागलाई मात्र अलग गरेर छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गरिएको हो। डोल्फु क्षेत्रका स्थानीयवासीलाई कामका लागि शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज जान र आउन करिब एक साता पैदल समय लाग्ने भएकोले स्थानीयको दुख तथा पीडा बुझेर छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापनाको पहल गरिएको मन्त्री शाहीले बताए।  

‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’ कार्मारोङ गाउँपालिका–१ मा पर्छ। मुगुम कार्मारोङ गाउँपालिकाले पनि शे–फोक्सुन्डो राष्ट्रियसँग जोडिएको भूभागलाई छुट्याएर अलग निकुञ्ज बनाइदिन मन्त्री शाहीसँग माग गरेको थियो। योसँगै अब नेपालमा राष्ट्रिय निकुञ्जको संख्या १३ पुगेको छ। रासस

प्रकाशित: १३ भाद्र २०८२ १५:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App