तीन वर्षदेखि लठ्ठीको सहारामा हिँडिरहेकी जुम्ला श्रीनगरकी ६१ वर्षीया अमृता रोकायाको जीवनमा शनिबार एकाएक उज्यालो फर्कियो।
‘तीन वर्षपछि आज फेरि संसार देखेँ,’ मोतिबिन्दुको सफल शल्यक्रियापछि भावुक हुँदै उनले भनिन्, ‘डाक्टर बाबुहरूको माया र गाउँमै आएको शिविरले मेरो जीवन फर्काइदियो।’
अमृताजस्तै जुम्लाका १२७ जना ज्येष्ठ नागरिकले सदरमुकाम खलंगामा आयोजित तीनदिने निःशुल्क आँखा शिविरमार्फत गुमेको दृष्टि फिर्ता पाएका छन्।
शिविरबाट लाभान्वित हुनेमा तातोपानी गाउँपालिका–६ की ८१ वर्षीया हाँसु कामी पनि छिन्। ‘धेरै वर्षदेखि आँखा धमिलो थियो, पैसा नभएर उपचार गर्न सकेकी थिइनँ,’ उनले भनिन्, ‘अब नजिकै उपचार पाएँ, नातिनातिनी स्याहार्न सजिलो भयो।’
त्यसैगरी, चन्दननाथ नगरपालिकाकी ६९ वर्षीया धनलक्ष्मी खत्रीले केही वर्षअघि नेपालगन्जमा करिब ४० हजार रुपैयाँ खर्चेर गराएको शल्यक्रिया अहिले घरआँगनमै निःशुल्क हुँदा अत्यन्तै खुशी लागेको अनुभव सुनाइन्।
नेपाल नेत्र ज्योति संघ जुम्लाद्वारा आयोजित उक्त शिविरले विशेषगरी आर्थिक अवस्था कमजोर भएका र टाढाको अस्पतालसम्म पुग्न नसक्ने दुर्गम गाउँका बासिन्दालाई ठूलो राहत प्रदान गरेको छ।
शिविरमा कुल ६३४ जनाको आँखा जाँच गरिएको थियो। जसमध्ये अधिकांश मोतिबिन्दुका बिरामी थिए।
नेपाल नेत्र ज्योति संघ, जुम्लाका प्रमुख कालीबहादुर रावतका अनुसार जिल्लाका दुर्गम क्षेत्रमा आँखा उपचारको स्थायी सुविधा नहुँदा नागरिकहरू लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका छन्।
रिडले आई फाउन्डेसन (युके) को आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल, पोखराको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा नेत्र विशेषज्ञ डा. हरिविक्रम अधिकारी नेतृत्वको नौ सदस्यीय टोलीले शल्यक्रिया गरेको थियो।
संघले हाल कर्णालीका चार गाउँपालिकामा उपचार उपकेन्द्र सञ्चालन गरिरहेको र तिला तथा तातोपानीमा पनि स्थायी सेवा विस्तारको तयारी भइरहेको जनाएको छ।
प्रकाशित: १५ कार्तिक २०८२ २१:५३ शनिबार





