३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

दुर्गम गाउँका सुत्केरीको स्वास्थ्य भाग्यमा निर्भर

कर्णालीका दुर्गम गाउँहरूमा सुत्केरीको स्वास्थ्य अझै भाग्य, पहुँच र समयसँगको दौडमा निर्भर देखिन्छ।  

अस्पताल पुग्ने बाटो कठिन, स्वास्थ्य सेवा सीमित र परम्परागत विश्वास अझै बलियो रहँदा सुत्केरीको ज्यान जोखिममा पर्ने क्रम रोकिएको छैन।  

जुम्लाकी १८ वर्षीया अस्मिता नेपालीको मृत्युले कर्णालीको मातृ स्वास्थ्यको पीडा फेरि उजागर गरेको छ।  

बिहीबार जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु भएको छ। जुम्लाको दुर्गम मानिने तिला गाउँपालिका-३ की १८ वर्षीया अस्मिता नेपालीको उपचारको क्रममा मृत्यु भएको हो।

उनलाई बिहीबार जुम्लाबाट नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी भएकी नेपालीलाई स्वास्थ्यमा जटिलता देखिएपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो।  

थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएकोमा उपचारकै क्रममा राति १ बजे मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो।  

घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समयसम्म व्यथा लागेर अवस्था जटिल भएपछि उनलाई प्रतिष्ठान पुर्‍याइएको थियो, तर प्रतिष्ठानमा शल्यक्रिया गरिए पनि थप समस्या देखिएपछि थप उपचारका लागि सुर्खेत लैजानुपर्ने अवस्था आएको हो।

‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत हवाई उद्धार गरिएको हो। स्वास्थ्यकर्मीका अनुसार अस्मिताले जन्माएको नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य छ। तर, सुत्केरीपछिको जटिलताका कारण आमाको मिर्गौला र फोक्सोमा गम्भीर समस्या देखिएपछि सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार भइरहेको थियो।  

कर्णाली स्वास्थ्य प्रतिष्ठानका निर्देशक डा. कमल थानीका अनुसार बिरामीको अवस्था जटिल बन्दै गएपछि त्यहाँ उपलब्ध उपचार सुविधाले पर्याप्त नहुने भएपछि उनलाई सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको थियो।

जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले चिकित्सकको सिफारिसपछि नेपाली सेनाको हेलिकप्टरबाट अस्मितालाई कर्णाली प्रदेश अस्पताल पठाइएको बताए। नेपाली सेनाको ‘एन-ए ०५५’ कलसाइनको हेलिकोप्टरबाट उनलाई अस्पताल लगिएको थियो।

प्रकाशित: २९ फाल्गुन २०८२ १२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App