वर्षा याममा बागमती नदीमा पानीको प्रवाहमा अवरोध आउन नदिन भन्दै चोभारको गल्छीको ग्रेगान हटाउने तथा गल्छीमा रहेका ५ वटा ठूला ढुँगा हटाउने निर्णयबाट सरकार पछि हटेको छ। अब सरकारले चोभारको गल्छी नछुने भएको छ।
गल्छीमा ग्रेगान हटाउने र ढुँगा सफा गर्ने नाममा त्यहाँ रहेका पुरातात्विक संरचना तथा ऐतिहासिक संरचना बिग्रने भन्दै स्थानीयवासीको विरोध भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो। सहरी विकास मन्त्रालय मातहतको अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका सूचना अधिकारी उद्धबप्रसाद नेपालले अब चोभारको गल्छी नचलाउने बताए।
२०८२ जेठ १४ गते विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको ३२औं बैठकले ‘अविरल वर्षाको समयमा चोभार गल्छीबाट हुने नदी प्रवाहमा अवरोध सिर्जना हुँदा वरपरका क्षेत्रमा डुबान हुने गरेकाले आगामी दिनमा उक्त समस्या दोहोरिन नदिन आवश्यकता अनुसार नेपाली सेनासँग समन्वय गरी विपद् जोखिम न्यूनीकरण गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिने’ भनी निर्णय गरेको थियो। मन्त्रालय मातहतको बागमती विकास समितिलार्य उक्त निर्णय कार्यान्वयन गर्न जम्मा दिइएको थियो। मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार चोभारको गल्छी अब नचलाउने भनी प्राधिकरणकै कर्मचारीहरूले भनेका छन। ‘स्थानीयवासीबाट नै विरोध भए पछि चोभारको गल्छी नचलाऔ भनी प्रधिकरणको भनाइ रह्यो। त्यसैले हामी उक्त निर्णयबाट पछि हटेका हौ,’ मन्त्रालयका एक उच्च कर्मचारीले भने।
सरकारले चोभारको गल्छी काट्न लागेको र त्यहाँ रहेका प्राकृतिक ढुंगा हटाउन लागेको भनी प्रचार भएपछि स्थानीय आक्रोशित भएका छन्। उनीहरूले सरकारी कर्मचारीलाई गल्छीमा केही काम गर्न दिएका छैनन्।
मन्त्रालयले असारको दोश्रो साता विज्ञप्ति प्रकाशित गरी चोभार गल्छी चौडाइ नगरी गल्छीभन्दा माथि विगतमा बगाएर ल्याएको फोहोर हटाउने तथा पहिरो जान सक्ने सम्भावित क्षेत्र पहिचान गरी रोकथाम गर्ने सरकारको उद्देश्य रहेको जनाएको थियो। गल्छीको धार्मिक, सांस्कृतिक तथा प्राचीन पहिचानलाई अक्षुण्ण राख्दै गल्छी वरपरका क्षेत्रमा हुन सक्ने डुबान न्यूनीकरणका लागि गल्छी भन्दा माथि विगतमा बगाएर ल्याएको फोहोर हटाउने, पहिरो जानसक्ने सम्भावित क्षेत्र पहिचान गरी रोकथामका कार्य गर्ने उद्देश्य रहेको मन्त्रालयले प्रष्ट्र पारेको थियो। मन्त्रालयको विज्ञप्तिपछि पनि स्थानीयवासीको विरोध कायमै रह्यो।
चोभार गल्छीमा पाँचवटा ठूला–ठूला ढुँगा रहेका छन्। ती ढुँगा प्राकृतिक रूपमा पहिले देखि नै रहेको स्थानीयको भनाइ छ। अधिकारसम्पन्न बागमती सभ्यता विकास समितिका अधिकारीहरू भने प्राकृतिक रूपमै गल्छीमा ढुंगा रहेको पुष्टि भएमा नहटाउने तर नदीले बगाउँदै ल्याएको पाइएमा ढुंगा हटाउने बताइरहेका छन्। यही विषयमा स्थानीय र सरकारी प्रतिनिधिबिच सहमति हुन सकेन। स्थानीयबासी भने गल्छीमा रहेका पाँच वटा ठूला ठूला ढुगाँ प्राकृतिक रूपमै पहिलेदेखि नै रहेको भन्दै ढुँगा नहटाउन अडान राख्दै आएका छन्।
गल्छीमा अड्किएका ग्रेगान नहटाएमा यस वर्ष बर्खायाममा बागमतीमा पानी प्रवाहमा अवरोध आउने र त्यसले त्यहाँ वरिपरि डुबान समस्या ल्याउने विकास समितिका प्रतिनिधिहरूको भनाइ थियो। यसअघि बागमती विकास समितिका प्राविधिक कर्मचारीले चोभार गल्छीमा पुगी ग्रेगान तथा ढुँगाका बारेमा अनुगमन तथा निरीक्षण गरेका थिए।
निरक्षणपछि प्राविधिकहरूले चोभार गल्छीभन्दा माथि ठूला–ठूला ढुँगा खसेको र थप खस्न सक्ने अवस्था रहेको भनी प्रतिवेदन तयार गरेका थिए। प्रतिवेदनमा ‘ललितपुर– १८ र कीर्तिपुर– ६ बीचको चोभार क्षेत्रअन्तर्गत चोभार गल्छीमा दुवै किनारातर्फबाट पहिरो गई खोलाको सतह करिब दुई मिटर माथि उठेको र गल्छीमा झरेका ठूलाठूला ढुँगा र थुप्रिएका माटोका कारण बहाब अवरुद्ध हुनुका साथै बर्खायामअगावै नहटाएमा उक्त खण्डअन्तर्गत सक्षम बस्तीलगायत आसपासका क्षेत्रमा खतराको सम्भावना रहेको’ भन्ने व्यहोरा उल्लेख गरिएको छ।
प्रकाशित: २६ असार २०८२ २०:३४ बिहीबार

