१८ असार २०८३ बिहीबार
image/svg+xml
समाज

काठमाडौंमा महिलाका लागि निःशुल्क ‘ब्लु बस’ गुड्ने

साझाका ८ बसलाई ‘ब्लु बस’ बनाइने

काठमाडौं उपत्यकाको सार्वजनिक यातायातमा महिलाहरूको सुरक्षित र निःशुल्क यात्रा सुनिश्चित गर्न आगामी साउन १ गतेदेखि ‘ब्लु बस’ सेवा सञ्चालनमा आउने भएको छ।

सरकारको १०० दिने शासकीय सुधार कार्ययोजना अन्तर्गत पहिलो चरणमा साझा यातायातका आठ वटा बसलाई ‘ब्लु बस’ का रूपमा सञ्चालन गर्ने तयारी गरिएको हो।

महिलाहरूका लागि लक्षित यस बस सेवाको सम्पूर्ण सञ्चालन खर्च नेपाल सरकारले बेहोर्नेछ। नयाँ बस खरिद गर्न समय लाग्ने भएपछि हाल सञ्चालनमै रहेका साझाका बसहरूलाई नै नीलो रङमा परिणत गरी सञ्चालन गर्न लागिएको पूर्वाधार विकास मन्त्रालयका उपसचिव ज्ञानराज लम्सालले जानकारी दिए।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र अर्यालका अनुसार बस सेवा सञ्चालनका लागि सैद्धान्तिक सहमति भइसकेको छ। पहिलो चरणमा चक्रपथ क्षेत्रमा चार वटा बस चल्नेछन्। जसमध्ये दुई वटा क्लकवाइज र दुई वटा एन्टिक्लकवाइज मा गुड्नेछन्। बाँकी चार वटामध्ये लगनखेल–बुढानीलकण्ठ रूटमा दुई र थानकोट–नागढुङ्गा–विमानस्थल रूटमा दुई वटा बस सञ्चालन गरिनेछ।

सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूचीको ९७ औँ बुँदामा महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने उल्लेख छ।

सेवा सुरु गर्न साझा यातायातले आवश्यक बजेट तथा राय-सहमतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ। साझा यातायातमा नेपाल सरकारको ९० प्रतिशतभन्दा बढी सेयर छ।

यस सार्वजनिक यातायात कम्पनीमा संघीय सरकारसँगै काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाको लगानी रहेको छ।

उपत्यकामा यो सेवा सफल भएपछि सातै प्रदेशमा विस्तार गर्ने सरकारको योजना छ।

प्रकाशित: १८ असार २०८३ १७:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App