पृथ्वीको जलवायु इतिहासकै सबैभन्दा बढी असन्तुलित अवस्थामा पुगेको छ । विश्व मौसम संगठन (डब्लुएमओ) ले सोमबार जारी गरेको एक प्रतिवेदनका अनुसार वायुमण्डलमा हरितगृह ग्यासको बढ्दो घनत्वका कारण वायुमण्डल र समुद्र निरन्तर तातो बनेका छन् र हिउँ पग्लिँदै गएको छ । यो परिवर्तन पछिल्ला दशकमा झन् तीव्र र व्यापक भएको र यसको प्रभाव सयौंदेखि हजारौं वर्षसम्म रहने उक्त संस्थाको भनाइ छ ।
सन् २०१५ देखि सन् २०१५सम्मका ११ वर्षहरू हालसम्मकै अभिलेखमा सबैभन्दा ताता ११ वर्ष रहेको प्रतिवेदनले पुष्टि गरेको छ । सन् १८५०–१९०० को औसतभन्दा सन् २०२५ मा पृथ्वीको सरदर तापमान करिब १.४ डिग्री सेन्टिग्रेडले बढेको थियो । यही बढोत्तरीले हालसम्मकै दोस्रो वा तेस्रो सबैभन्दा तातो वर्षको रुपमा सन् २०२५ नामांकित भएको छ । तीव्र गर्मी, भारी वर्षा र उष्णकटिबन्धीय चक्रवातजस्ता चरम घटनाले विश्वभर ठुलो क्षति पुर्याएका छन् र परस्पर जोडिएको अर्थतन्त्र तथा समाजको कमजोर पक्षलाई उजागर गरेका छन् ।
‘स्टेट अफ ग्लोबल क्लाइमेट–२०२५’ नामक उक्त प्रतिवेदनका अनुसार पृथ्वीको समुद्र निरन्तर तातिँदै गएको छ र यो क्रममा यसले कार्बनडाइअक्साइड झन् धेरै मात्रामा सोस्दै आएको छ । कार्बनडाइअक्साइड समुद्रले सोस्दा जलवायु परिवर्तनलाई ढिलो पार्न सहयोग पुग्ने कारणलाई केही हदसम्म सकारात्मक मानिन्छ तर दीर्घकालका लागि यसको ठुलो नकारात्मक असर रहने वैज्ञानिक मत छ । सोसिएको कार्बनडाइअक्साइड पानीसँग मिलेर समुद्रमा अम्लीयकरण बढ्ने र यसले सामुद्रिक जीवलाई असर पार्ने र सम्पूर्ण सामुद्रिक खाद्य शृंखला तथा मस्त्यपालन पेसामा समेत समस्या निम्तिने मानिन्छ ।
प्रतिवेदनका अनुसार पछिल्ला दुई दशकमा समुद्रले हरेक वर्ष मानवले वार्षिक रूपमा प्रयोग गर्ने ऊर्जा भन्दा करिब अठार गुणा बढी ऊर्जा सोस्दै आएको छ । यसको अर्थ समुन्द्रले वातावरणमा हरितगृह ग्यासबाट उत्पन्न भएको अतिरिक्त तापको ठुलो हिस्सा आफूभित्र समेटिरहेको छ। झट्ट हेर्दा यसले पृथ्वीको जमिन र वायुमण्डल चाँडो तात्न नपाएको जस्तो देखिन्छ अथवा समुद्रले पृथ्वीको तापमान वृद्धिदरलाई केही हदसम्म ढिला गरिरहेको देखिन्छ । तर यसको परिणाम पनि गम्भीर रहेको वैज्ञानिक बताउँछन् । समुद्रमा यति धेरै ऊर्जा सञ्चित हुनाले समुद्रको तापक्रम बढ्दै गएको छ, ध्रुवीय बरफ पग्लिँदै गएको छ, समुद्री पानीको विस्तार भएर समुद्री सतह बढिरहेको छ र महासागरका प्रवाह र पारिस्थितिकी प्रणालीमा परिवर्तन आएको छ ।
प्रतिवेदनप्रति टिप्पणी गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिओ गुटरेसले पृथ्वीको जलवायु ‘आपतकालीन’ अवस्थामा पुगेको र यो ग्रहीय सीमाभन्दा बाहिर धकेलिँदै गएको बताएकाछन् । उनका अनुसार लगातार ११ वर्षसम्म त्यही अनुक्रम दोहोरिनु कुनै संयोग होइन । ‘यो त तत्काल कार्य गर्ने आह्वान हो,’ उनले भनेका छन् । विश्व मौसम विज्ञान दिवस (मार्च २३) को अवसरमा सार्वजनिक गरिएको यस वर्षको सो प्रतिवेदनमा पहिलो पटक पृथ्वीको ऊर्जा असन्तुलनलाई प्रमुख जलवायु सूचकका रूपमा समावेश गरिएको छ । सामान्य अवस्थामा सूर्यबाट आउने र पृथ्वीबाट बाहिर जाने ऊर्जामा सन्तुलन रहेको हुन्छ । तर कार्बन डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइडजस्ता ताप धारण गर्ने ग्यासहरूको स्तर पछिल्ला आठ लाख वर्षयताकै उच्च स्तरमा पुगेको छ, यसले पृथ्वीको ऊर्जा सन्तुलनलाई बिगारेको छ । सन् १९६० यता नियमित रूपमा पृथ्वीको ऊर्जा सन्तुलन मापन सुरु भएको हो र त्यतिबेलादेखि नै लगातार असन्तुलन बढ्दै आएको छ । विशेष गरी यसको तीव्रता पछिल्ला २० वर्षमा बढेको र सन् २०२५ मा नयाँ उच्च बिन्दुमा पुगेको प्रतिवेदनमा उल्लेख छ ।
वैज्ञानिक प्रगतिले पृथ्वीको ऊर्जा असन्तुलनबारे बुझाइ अझ स्पष्ट बनाएको चर्चा गर्दै विश्व मौसम संगठनका महासचिव सेलेस्टे साउलोले प्राकृतिक सन्तुलनलाई गम्भीर रूपमा बिगार्न मानव गतिविधि जिम्मेवार रहेको बताएकी छन् । यसको असर सयौंदेखि हजारौं वर्षसम्म रहने उनको भनाइ छ । ‘दैनिक रूपमा हेर्दा हाम्रो मौसम अझ चरम र असामान्य बन्दै गएको छ । सन् २०२५ मा आएको तातो लहर, डढेलो, खडेरी, उष्णकटिबन्धीय चक्रवात, आँधी र बाढीले हजारौंको ज्यान लियो, करोडौं मानिस प्रभावित भए र अर्बौंको आर्थिक क्षति भएको छ,’ महासचीव साउलोले भनिन् ।
जलवायु प्रणालीमा सञ्चित अतिरिक्त तापको ठुलो हिस्सा महासागरमा जाने गरेको छ । वैज्ञानिकका अनुसार करिब ९१ प्रतिशत ताप महासागरमा सञ्चित हुन्छ भने बाँकी ऊर्जा जमिन, बरफ र वायुमण्डलमा फैलिन्छ । सन् २०२५ मा समुद्रको ताप अभिलेखकै उच्च स्तरमा पुगेको छ र पछिल्ला दुई दशकमा महासागरमा तापमान बढ्ने दर दोब्बरभन्दा बढी छ । वैज्ञानिक तथ्यांकअनुसार समुद्रको तापमान वृद्धि र बरफ पग्लिने प्रक्रियाले समुद्री सतहमा दीर्घकालीन वृद्धि भएको छ । सन् १९९३ देखि हालसम्म समुद्री सतह करिब ११ सेन्टिमिटरले बढिसकेको छ । जलवायु संम्बन्धी संयुक्त राष्ट्रसंघीय अन्तरसरकारी निकाय (आइपिसिसी) का अनुसार समुद्रको तापमान वृद्धि र सतहवृद्धि आगामी सयौं वर्षसम्म जारी रहनेछ र केही परिवर्तन शताब्दीयौंसम्म उल्टाउन नसकिने (अपरिवर्तनीय) किसीमका छन् ।
चरम मौसमका घटनाहरूले विश्वभर ठुलो मानवीय र आर्थिक क्षति पुर्याइरहेका छन् । यस्ता घटनाहरूले कृषि उत्पादनमा असर पार्दै खाद्य असुरक्षा, बसाइँसराइ र सामाजिक अस्थिरतामा समेत प्रभाव पारेका छन् । जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पनि गम्भीर असर पारिरहेको वैज्ञानिक अध्ययनले देखाएका छन् । लामखुट्टेबाट सर्ने डेंगी रोग विश्वकै सबैभन्दा तीव्र फैलिने रोगका रूपमा देखिएको छ र विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको करिब आधा जनसंख्या यसको जोखिममा छन् । साथै अत्यधिक गर्मीका कारण विशेषगरी कृषि र निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूको स्वास्थ्यमा जोखिम बढ्दै गएको छ ।
प्रतिवेदनले जलवायु परिवर्तनलाई स्पष्ट रूपमा वर्तमानको ‘गम्भीर संकट’ मानेको छ । जीवाश्म इन्धनप्रतिको निर्भरता घटाउने, वैज्ञानिक तथ्यमा आधारित निर्णय लिने र पूर्वसूचना प्रणाली सुदृढ बनाउनेतर्फ तत्काल कदम चाल्नुपर्ने आवश्यकतालाई प्रतिवेदनमा औंल्याइएको छ ।
प्रकाशित: ९ चैत्र २०८२ १९:४८ सोमबार





