२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

झुपडीमा फुल्यो डाक्टर सपना

हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी चोकबाट करिब तीन किलोमिटर उत्तरपूर्व पुगेपछि आउँछ श्रीपुर गाउँ। छाप्राहरूको लहर छिचोलेपछि ढल्नै लागेको सानो छाप्रो हो मधुरी साफीको। यही छाप्रोबाट २१ वर्षीय सत्यनारायण साफीले डाक्टर बन्ने सपना देखे। अहिले मधेसी दलित आरक्षण कोटामा पूर्ण छात्रवृत्तिमा उनी एमबिबिएसमा नाम निकाल्न सफल भएका छन्।

दैनिक ज्यालामजदुरी गरी जीविका चलाउने परिवारबाट एमबिबिएसमा नाम निकालेका सत्यनारायण अहिले ‘भाइरल’ बनेका छन्। दलित कोटाबाट पूर्ण छात्रवृत्तिमा एमबिबिएसमा नाम निकाल्ने सत्यनारायण पहिला व्यक्ति भने होइनन् तर उनी भाइरल बन्नुका पछाडि एउटा रोचक कथा छ।

जनता माध्यमिक विद्यालय (प्राविधिक धार) बरियारपट्टीबाट २०७७ सालमा एसइई परीक्षा उत्तीर्ण गरेका उनले अरनिको उच्च मावि विराटनगरबाट २०७९ सालमा विज्ञान विषय लिएर कक्षा ११–१२ उत्तीर्ण गरे। त्यसपछि एमबिबिएस प्रवेश परीक्षा तयारी कक्षाका लागि काठमाडौं पुगे। भाइब्रेन्ट कोचिङ सेन्टरमा उनले नाम पनि लेखाए तर तीन महिना नबित्दै उनी भाइब्रेन्ट मात्र होइन, काठमाडौं नै छाडेर घर फर्के। उनी घर फर्केपछि रोजगारमा कतार रहेका उनका बुवा मधुरी पनि बेरोजगार भएर घर फर्के। त्यसपछि जीवनयापन मुस्किल हुँदै गयो।

घर खर्च धान्न ‘मजदुरी रोज्ने कि पढाइ?’ भन्ने परिस्थितिमा सत्यनारायण आइपुगे। उनले मजदुरी गर्दै पढाइ अघि बढाउने निर्णय लिए। गाउँघरमै मदजुरीको काम गर्न थाले। दिनभर मजदुरी गर्थे र रातभर पढाइ। मजदुरीबाट भएको कमाइबाट घर खर्च कटाएर बचेको रकमबाट एमबिबिएस प्रवेश परीक्षा तयारीका लागि किताब किन्थे। त्यसैबाट जोगाएको रकमबाट काठमाडौं पुगेर उनले एमबिबिएस प्रवेशिका परीक्षा दिएका थिए। पहिलो प्रयासमै उनी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए।

उनको घर पुग्दा सानो चौकी (खाट) मा छरपस्ट किताब अझै छरिएकै अवस्थामा थिए। उनी किताबकै बिछ्यौना र तकिया बनाएर आफ्नो सपना साकार पार्न तम्सिएको भन्ने प्रमाण उनको कोठाको अवस्थाले पेस गर्थ्याे। आफ्नो सफलताको पछाडि दृढ संकल्प, कडा मिहिनेत र धैर्यलाई कारक मान्छन् सत्यनारायण।

विपन्न परिवारका सत्यनारायणको मनमा डाक्टर बन्ने सपनाको पालुवा कसरी पलायो? यो पनि रोचक छ। उनका आमा सुनिता साफीलाई टाउको दुख्ने समस्या पुरानै हो। सत्यनारायण स्कुल पढ्दादेखि नै आमालाई लिएर उनी अस्पताल–अस्पताल भौतारिरहन्थे। कारण बुवा वैदेशिक रोजगारका लागि परदेशमा थिए। अस्पतालमा डाक्टरले सबै जाँच गरेर औषधि लेखिदिन्थे। उनी औषधि किनेर घर फर्कन्थे। औषधि खाँदा चार पाँच दिनसम्म ठिक रहन्थ्यो, पछि फेरि उही समस्या। आमाको पीडाले रन्थनिएका सत्यनारायणले अस्पतालमै प्रण गरे, ‘म भविष्यमा डाक्टर बनेरै छाड्छु।’

त्यतिबेला उनलाई एमबिबिएसमा कसरी प्रवेश गर्ने हो भनेर केही थाहा थिएन तर अठोट थियो त केवल डाक्टर बन्ने। उनले त्यहीअनुसार आफ्नो पढाइमा लगाव लगाए बनाए। आज त्यही लगावकै बलमा उनी आफ्नो सपना साकार हुने अवस्थामा आइपुगेका छन्।

‘मेरो मनमा एमबिबिएस पढ्ने जुनुन थियोे, मैले त्यहीअनुसार घरमै बसेर तयारी थालें र नाम पनि निकाले। काठमाडौंबाट फर्केर दुई वर्ष लगातार घरमै बसेर निर्माण मजदुरको काम गर्दै स्वाध्ययन गरको हुँ,’ सत्यनारायण भन्छन्, ‘मिहिनेतको फल प्राप्त भएपछि सन्तुष्ट छु, खुसी छु।’

तर सन्तुष्टि र खुसीसँगै आफूमा चिन्ता पनि छाएको उनी बताउँछन्। छात्रवृत्ति पाउँदा पनि पढाइ शुल्कबाहेक आवास, खानपान, यातायात, अध्ययन सामग्री आदिमा थप ठुलो धनराशि खर्चिनुपर्छ। उनीसँगै उनका परिवार पनि आवश्यक धनराशि कसरी जोहो गर्ने भनेर चिन्तामा परेका छन्।

कृषि मजदुरी गरेर सत्यनारायणका बुबाले तीन छोरी, दुई छोरा र आफू पतिपत्नीसहित सात सदस्यीय परिवारको जीविका चलाइरहेका छन्। एक्लो बुबाको मजदुरीले मुस्किलले परिवारको हातमुख जोडिन्छ। ‘छोराले मेहनत गरेर डाक्टरी पढ्ने भनेर नाम निकाल्यो तर यसको पढाइ कसरी पूरा गर्ने भन्ने चिन्तामा छु,’ सत्यनारारयणका बुबा मधुरी साफीले भने, ‘सरकारले सहयोग गरेन भने हामी गरिबको छोराले पढ्न सक्दैन। म मेरो छोराको पढाइको व्यवस्था मिलाइदिन सरकारलाई आग्रह गर्छु।’

सत्यनारायणकी आमा सुनिता भन्छिन्, ‘छोराले ठुलो सफलता हासिल गरेको छ तर उसको सफलतामा खुलेर खुसी पनि हुन सकिएको छैन। नाम निस्किएको भन्ने सुनेकै दिनदेखि उनको पढाइ कसरी पूरा होला भन्ने चिन्ताले राम्रोसँग निदाउन दिएको छैन।’

सम्पत्तिका नाममा साढे चार धुर ‘गाउँ ब्लक’को घडेरी र पाँच कट्ठा बन्जर बगरको जमिनबाहेक केही छैन उनीसँग। तर यति कठिन परिस्थितिका बाबजुद साफीको आत्मविश्वास डगमगाएको छैन। सुनिताले छिमेकीसँग ८० हजार रुपैयाँ ऋण–सापटी लिएर छोराले कोटा पाएको राप्ती स्वास्थ्य विज्ञान प्रीतष्ठान दाङमा नामांकन गराएकी छन्।

परिवारको आर्थिक अवस्था कमजोर भए पनि सत्यनारायणको मनोबल भने उच्च छ। भन्छन्, ‘मेरो पढाइमा आजसम्म बुबाआमाले हाम्रो आर्थिक हैसियतभन्दा ठुलो लगानी गर्नु भएको छ। मैले आफैं पनि पछिल्ला दुई वर्ष मजदुरी गरेरै घरखर्च जुटाउँदै पढाइ गरिरहेको थिएँ। अबका दिनमा मेरो पढाइका लागि मनकारी महानुभाव र राज्यबाट सहयोग पाइन्छ भन्ने विश्वास छ। म आफैं पनि मेहनत गरेर चिकित्सक बन्ने सपना पूरा गर्छु।’

सत्यनारायणको सफलताले पुरै गाउँमा खुसी सञ्चार भएको छ। उनको भिडियो सामाजिक सञ्जालमार्फत भाइरल गराउने अभियन्ता सन्तोष यादव भन्छन्, ‘उनको पढाइप्रतिको लगाव र सफलता गाउँका अन्य युवाका लागि प्रेरणा बनेको छ। सत्यनारायणको सफलताले हामीलाई गर्व महसुस गराएको छ। उनको सपना पूरा गराउन राज्य र मनकारी महानुभावहरूले आवश्यक सहयोग गर्नुपर्छ यादवले भने, ‘यो सत्यनारायणको मात्र सपना होइन, उनको सपनासँग यस भेगका धेरै विपन्न जेहेनदारहरूको सपना गाँसिएको छ।’

उनले सत्यनारायणको पढाइ पुरा गराउने पहिलो दायित्व राज्यको भएको बताए। ‘राज्यले गरिब, दलितको पढाइको पूरा गराउने जिम्मेवारी लिनुपर्छ,’ उनले भने, ‘स्थानीय र मनकारीहरूले पनि सकेको सहयोग गरे उनको पढाइ पूरा हुन्छ।’

झुपडीबाट मेडिकल शिक्षाको यात्रा आरम्भ गरेका सत्यनारायण साफीको कडा मिहिनेत, दृढ इच्छाशक्ति, संघर्ष र धैर्य झुपडीमा बस्ने युवाहरुका लागि अनुकरणीय र प्रेरणा बन्ने विश्वास यादवमा छ।

आरक्षणको उज्यालोले उज्यालिँदै विपन्न बस्ती

२०६३ सालअघि राज्यसत्तामा पहुँचका आधारमा संरचनागत लाभ लिनबाट सीमान्तकृत समुदाय (मधेसी, दलित, आदिवासी जनजाति, अपागंता भएका व्यक्ति) वञ्चित रहँदै आएका थिए। यी समुदायमाथि संरचनागत विभेद व्याप्त थियो। यही विभेदलाई सम्बोधन गर्न मधेस विद्रोहको बलमा अन्तरिम संविधान २०६३ मा आरक्षणको प्रावधान ल्यायो। त्यसअनुरूप महिला, आदिवासी जनजाति, मधेसी, दलित, पिछडिएको क्षेत्र र अपांगता भएका व्यक्तिका लागि भन्दै ६ वटा क्लस्टर छुट्याएर आरक्षण लागु गरिएको थियो।

आरक्षणका लागि निजामती ऐन २०६४ संशोधन गरिएको थियो तर पछि निजामती सेवामा खुलाइएका दरबन्दीमध्ये ४५ प्रतिशत सिट आरक्षणतर्फ छुट्याई त्यसलाई शतप्रतिशत मानी महिलाका लागि ३३ प्रतिशत, आदिवासी जनजाति २७ प्रतिशत, मधेसी २२ प्रतिशत, दलित ९ प्रतिशत, अपांगता भएका व्यक्ति ५ प्रतिशत र पिछडिएका क्षेत्रका लागि ४ प्रतिशत भाग लगाइयो। आरक्षणको मुख्य अवधारणा ऐतिहासिक विभेदको क्षतिपूर्ति नै भएको जानकारहरू बताउँछन्।

आरक्षणको व्यवस्थाले सीमान्तका लागि अवसरको ढोका खोलिदिएको छ। जसका कारण महोत्तरीको जलेश्वर नगरपालिका–२ का महादेव पासवान, महोत्तरी गाउँपालिका–६ गोरिगमाका अभय र कृतिका पासवानजस्ता कैयन् सीमान्तकृत समुदायका अब्बल विद्यार्थीले डाक्टर बन्ने सपना पूरा गर्न सकिरहेका छन्।

उनीहरूलाई पछ्याउँदै थुप्रै सीमान्तकृत युवायुवती राज्यमा पहुँचका लागि हौसिएका छन्। सत्यनारायण, महादेव, अभय र कृतिका आरक्षणको उपयोगका लागि प्रतिस्पर्धामा खरो उत्रिन मिहिनेत पनि उत्तिकै गरेका हुन्।

मधेस विद्रोह २०६३-६४ को बलमा नेपालको संविधान २०७२ मा आरक्षण व्यवस्था राखिँदा गरिब दलितका छोराछोरीलाई पनि डाक्टर पढ्ने अवसर मिलेको हो। यो संविधानको उज्यालो पक्ष हो।

‘मधेस आन्दोलन र यसको जगमा नेपालको संविधान २०७२ मा व्यवस्था भएको आरक्षण हामीजस्ता गरिब परिवारका लागि वरदान हो,’ सत्यनारायणले भने, ‘नेपालको संविधान २०७२ मा राखिएको आरक्षणको व्यवस्थाले हामीजस्ता सीमान्तकृत विपन्नले पनि डाक्टर बन्ने सपना देख्ने र पूरा गर्ने भएका छौं। यो व्यवस्थाले हामीजस्ता सम्भावना बोकेका थुप्रै दलित समुदायका युवाको सपना साकार बनाएको छ, बनाउँनेछ।’

आरक्षणको संवैधानिक व्यवस्थाले समाजमा सकारात्मक परिणाम देखिन थालेको छ। यो पूर्ण होइन तर थोरै भए पनि दलितका छोराछोरीलाई पनि डाक्टर पढ्ने अवसर सुरक्षित भएको छ।

प्रकाशित: १३ पुस २०८२ ०६:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App