१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

राज्यका प्रमुख संरचनामा पुनर्संरचना नगरेसम्म देश अघि बढ्दैन : हमाल

जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले राज्यका प्रमुख संरचनामा आमूल सुधार तथा पुनर्संरचना नगरेसम्म मुलुकले निकास पाउन नसक्ने बताएका छन्।

हमालले शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्यायालय, विश्वविद्यालय, कूटनीतिक संस्था, सुरक्षा निकाय तथा कर्मचारी प्रशासनमा संरचनात्मक सुधार अपरिहार्य रहेको बताएका हुन्।

जेनजी आन्दोलनलगत्तैदेखि आफूहरूले राज्यका यी महत्वपूर्ण संरचनाको पुनर्संरचना गर्नुपर्ने विषय निरन्तर उठाउँदै आएको उल्लेख गर्दै उनले विद्यमान प्रणालीलाई सामान्य टालटुल गरेर देशलाई अगाडि बढाउन नसकिने धारणा राखेका छन्।

उनले २०८२ भदौ २४ गते तत्कालीन राज्य संयन्त्र पूर्ण रूपमा ध्वस्त भएको टिप्पणी गर्दै राष्ट्रपतिदेखि सुरक्षाकर्मीका जवानसम्मले आत्मसमर्पण गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्।

त्यसपछि फागुन २१ गते सम्पन्न मध्यावधि निर्वाचनले मात्रै राजनीतिक तथा शासकीय संकटको समाधान दिन्छ भन्ने सोचका आधारमा भित्रैदेखि सडेर कमजोर भइसकेको राज्य प्रणालीलाई पुनः टालटुल गरेर अघि बढाउने प्रयास गरिएको उनको भनाइ छ।

'ध्वस्त भइसकेको, भित्रैबाट सडेर गलेको प्रणालीलाई टालटुल गरेर यहाँसम्म ल्याइपुर्‍याउने कुचेष्टा गरियो। अब कतिञ्जेल अगाडि बढ्छ?' हमालले प्रश्न गरेका छन्।

उनले अब मुलुकको भविष्य र राज्य सञ्चालनको दिशाबारे सबै पक्ष गम्भीर बन्नुपर्ने आग्रहसमेत गरेका छन्।

हमालको भनाइले निर्वाचनबाट सरकार परिवर्तन हुनु मात्रै पर्याप्त नभई राज्यका आधारभूत संस्थाहरूको संरचना, कार्यशैली र शासन प्रणालीमै व्यापक सुधार आवश्यक रहेको बहसलाई पुनः सतहमा ल्याएको छ।

प्रकाशित: १३ कार्तिक २०८३ ११:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App