१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

होटलमा अचानक ढलेर बैंक म्यानेजरकी पत्नीको ज्यान गयो, मेडिकल रिपोर्टमा खुल्यो यस्तो कारण

भारतको उत्तर प्रदेशस्थित झाँसीमा होटलमा अचानक लडेर एक बैंक म्यानेजरकी श्रीमतीको मृत्यु भएको छ।

होटलको सिसिटिभी फुटेजमा महिला कोठाको ढोकामा पुग्ने बित्तिकै आइतबार अचानक पछाडि ढलेको देखिन्छ। सुरुमा परिवारले उनका पतिमाथि हत्या गरेको आरोप लगाए पनि पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण हृदयाघात भएको उल्लेख छ।

मृतक मुस्कान सिमोलियाको विवाह मध्यप्रदेशको विदिशामा बस्ने बैंक म्यानेजर नीलेशसँग गत जुनमा भएको थियो। विवाह भएको करिब चार महिनापछि उनको मृत्यु भएको हो। मुस्कान झाँसीको प्रेमनगरस्थित नैनागढमा माइतीमा बस्दै आएकी थिइन्। उनी रेल्वेको जुनियर इन्जिनियर (जेई) परीक्षाको तयारी गरिरहेकी थिइन्।

मुस्कानका बुबा रामजी लालका अनुसार अक्टोबर १० मा उनी छोरीलाई घर ल्याएका थिए। अक्टोबर २३ मा ज्वाइँ नीलेश झाँसी आएर भोलिपल्ट काकीको घर जाने भन्दै मुस्कानलाई आफूसँगै लिएर गएका थिए। तर, उनीहरू काकीको घर नगई झाँसीकै ऋषभ होटलमा बसेको पछि थाहा भएको रामजी लालले बताए।

रामजी लालले छोरीको मृत्युमा ज्वाइँको हात रहेको आशंका गरेका छन्। उनका अनुसार नीलेशको यसअघि नै अर्को विवाह भएको र पहिलो श्रीमती इन्दोरमा बस्ने गरेको कुरा मुस्कानले थाहा पाएकी थिइन्। नीलेशले पहिलो श्रीमतीसँग तुलना गर्दै मुस्कानलाई मानसिक तनाव दिने गरेको पनि बुबाको आरोप छ। उनले छोरीको टाउको भित्तामा ठोक्काएर हत्या गरिएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।

घटनापछि प्रहरीले होटलको सिसिटिभी फुटेज जाँच गरेको थियो। फुटेजमा मुस्कान आफ्ना पति र होटलका कर्मचारीसँग कोठामा प्रवेश गरेको देखिन्छ। कर्मचारी र नीलेश कोठाभित्र गएपछि मुस्कान ढोकाबाट भित्र पस्ने क्रममा अचानक पछाडि ढलेको देखिएको छ। त्यसपछि नीलेशले उनलाई अस्पताल पुर्‍याएका थिए। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

पोस्टमार्टम रिपोर्टमा मुस्कानको मृत्युको कारण हृदयाघात भएको उल्लेख गरिएको छ। प्रहरीले घटनाका अन्य पक्षबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ। नीलेशलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरीले परिवारले अहिलेसम्म लिखित उजुरी नदिएको र घटनासँग जोडिएका आरोप तथा उपलब्ध प्रमाणबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: १३ कार्तिक २०८३ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App