२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

सडकसँगै बगेको समृद्धिको रथ

एक दशकअघिसम्म पातारासी गाउँपालिका -२  पेरे गाउँका बलबहादुर  बहोहोरालाई 'सडक' भन्नु केवल रेडियो र पत्रपत्रिकामा सुन्ने शब्द थियो। खलंगा बजारसम्म पुग्न भारी बोक्दै दुई दिनको पैदल यात्रा गर्नुपर्थ्यो।तर आज, उनी आफ्नै आँगनबाट गाडी गुडेको हेरिरहन्छन्।  

No description available.

‘घरै नजिक स्कुल र बजार जाने बाटो बन्यो,’ बलबहादुर भन्छन्, ‘गाडी दिनमा दुई–तीनचोटि आउँछ, यस्तो सुविधा होला भनेर कल्पना पनि गरेको थिइनँ।’एक समय थियो, जब बारीमा फलेको तरकारी कुहिन्थ्यो, किनभने बजार लैजान यातायातको साधन थिएन। अब भने, गाडी गाउँमै आइपुग्छ, र बोटबाटै तरकारी बेचिन्छ।स्थानीय युवा सान्ताराम बुढा भन्छन्, "हिउँद होस् या बर्खा, गाडीले स्याउ, आलु, सिमी, फापर, कोदो, तोरी सबै गाउँबाट उठाउँछ। पैसा हात हातमै पर्छ। सडक आएपछि हामीले बाँझो जमिन पनि जोत्न थाल्यौं।"

No description available.

सडकले स्थानीय जनताको जीवनशैली मात्र होइन, सोच नै बदलिदिएको छ। पहिले खाद्य संस्थानले बाँड्ने ५ किलो चामल लिन दुई दिनको यात्रा गर्नु पर्थ्यो। आज चामल, दाल, नुन, तेल, चिनीजस्ता आवश्यक सामग्री घरको ओटालोमै आइपुग्छ।

पातारासी- १ की सर्केनी बुढा भन्छिन्, "पहिला स्याउ, सिमी, आलु बेच्न पिठ्युँमा बोकेर बजार झर्नुपर्थ्यो। अहिले गाडी नै बारीमा पुग्छ। सडकले विकासको हुरी ल्याएको छ।"

स्वास्थ्य र शिक्षा क्षेत्र पनि अब गाउँमै सघन छन्। निजी क्लिनिक, एम्बुलेन्स सेवा, इन्टरनेट जडान, गाउँमै उपलब्ध छन्।यता पातारासी गाउँपालिका -५ का स्थानीय सुन्दर बहादुर खत्रीका अनुसार सडकले गाउँको मुहारै फेरिदिएको छ। "पहिले भारी बोक्ने बाध्यता थियो। अहिले कृषि, जडिबुटी, पर्यटन तीनवटै क्षेत्रले फड्को मारेका छन्," उनले भने ।

No description available.

चुमचौरको ज्युलो, शंकर झरना, डोरबहादुर विष्टले स्थापना गरेको इष्टिच्यूट-यी सबै गन्तव्यमा अहिले दैनिक हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्छन्।"अब पर्यटक आउने, गाउँले बेच्ने- गाउँ आफैं एक खुला बजारजस्तो भएको छ," खत्रीले भने।

जुम्लाको पातारासी गाउँपालिकामा ७ वटा वडा, २६ गाउँबस्ती छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँ १६ हजार ८२४ जनसंख्या र ३ हजार ३ सय ४२ घरधुरी छन्। यो क्षेत्र ४० भन्दा बढी बहुमूल्य जडिबुटी र ३३ प्रजातिका जंगली चराचुरुङ्गी र जनावरका लागि पनि प्रसिद्ध छ।

No description available.

२०६० सालदेखि ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु भएको सडक निर्माणले २०७४ सालदेखि गती लियो। अहिले प्रत्येक वडामा एम्बुलेन्स पुग्ने अवस्था छ।स्थानीयको बलियो माग छ- पातारासी हुँदै डोल्पा जोडिने सडक सञ्जाल तत्काल निर्माण होस्।पातारासी -१ गडिगाउँका पटे ऐडी भन्छन्, "पहिले हामी आफैं भारी थियौं, अब सडकले हाम्रो जीवन हलुका बनाएको छ। अब यो बाटो पिच होस्, पुल बनोस्, ठूलो गाडी पनि सजिलै चलोस्। त्यसपछि त समृद्धि आफै दौडिएर आउँछ।"

No description available.

प्रकाशित: २४ आश्विन २०८२ २१:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App