१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

१४ दिनसम्म पनि निकाल्न सकिएन बस

फुलेको लामो कपाल । अगाडि छुस्स फुलेका दाह्री । छोटो कदका मधुर स्वरमा बोल्ने टायर कान्छा अर्थात सन्तबहादुर श्रेष्ठ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेशीस्थित त्रिशुली नदी किनारमा भेटिएको बसको उत्खननमा दुई सातादेखि निरन्तर खटिएका छन् । तर प्रगती भने सन्तोष जनक देखिएको छैन । यद्यपी ६२ वर्षिय श्रेष्ठले हरेस भने खाएका छैनन् ।  

शुक्रबार खाल्टोबाट बालुवा बाहिर फालिरहेको अवस्थामा यो बस निस्कन्छ त भनेर प्रश्न गर्दा टायर कान्छाको सहजै उत्तर थियो ‘निस्कनै पर्छ ननिस्के त हामी यत्रो दिन किन बस्नु पर्‍यो?’ कहिले निस्कन्छ भन्ने प्रतिप्रश्नमा उनले फेरी भने ‘पछाडिको भाग माथी नआउने बेलासम्म भन्न सक्दिन ।’

२०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका-२९, सिमलतालबाट दुई वटा गाडी पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएका थिए । दुईमध्ये काठमाडौँबाट गौर हिडेको गणपति डिलक्स भग्नावशेष अवस्थामा फेला परेको थियो । त्यसपछि श्रेष्ठको नेतृत्वमा बस झिक्ने काम भइरहेको छ । शनिबार बालुवामा दबेका पछाडि र अगाडिका टायर देखिएका छन् । बस केही माथी आएको छ । केही दिनमा निस्कनेमा उनी आशाबादी छन् । ‘बस निस्कछ भन्ने आशा नै छ । अहिले प्रगती नदेखिएपनि काम भएपछि एकैपटक देखिन्छ,’ उनले भने ।  

बस निकाल्नका लागि १५ जनाको सुरक्षाकर्मी र उनको ८ जनाको प्राविधिक टोली खटिएको छ । सबैले उनको निर्देशनमा काम गर्दछन् । आफू पनि चेनपुली लगाउन, बालुवा र पानी हटाउन बिहानदेखि साँझ पाँच बजेसम्म निरन्तर खटिन्छन् । त्यो बेलामा हिजोआज उनले कुनै पनि युटुबरलाई अन्तरवर्ता दिँदैनन् । काम सकेपछि युटुबरलाई दिनभरको प्रगतीबारे जानकारी दिन्छन् । कुरेर बसेका युटुबरले उनले गरेका हरेक क्रियाकलाप क्यामेरामा कैद गरेर भाईरल बनाइरहेका छन् ।  

विभिन्न ठाउँमा खस्ने गरेका गाडी निकाल्ने काममै उनले ४० वर्ष बिताइसके । अहिलेसम्मकै ठूलो चुनौतीचाहिँ यहीँ मोल्नुपरेको छ । ‘अहिलेसम्म सबैभन्दा धेरै समय लागेको भनेको एक साता हो,’ उनले भने ‘यति अप्ठेरोमा काम अहिलेसम्म गरेको थिएन ।’ यहाँ अप्ठेरो ठाउँ छ । सडक छैन । पानी जति फालेपनि उत्तिखेर नै भरिन्छ । दिनभर पानी फाल्दै काम गर्दै गर्दा समस्या भइरहेको छ ।  

त्रिशूली किनारमा बालुवाभित्र दबिएर बसेको गणपति डिलक्सको बस निकाल्न थालेको १४ दिन भइसक्यो । पुस २७ गते बिहान नेपाल प्रहरीले बेल्चा लिएर बालुवा हटाउँदै गाडी निकाल्न प्रयास गरे पनि असम्भव भएपछि तनहुँ प्रशासनले टायर कान्छालाई सम्पर्क गरेको थियो । ७५ टन तान्ने चार वटा चेन पुली लगाएर यहाँ काम भइरहेको छ ।  

सरकारले सुरुमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी खटाएको थियो । अहिले यहाँ शसस्त्र प्रहरी र नेपाल प्रहरीले उनलाई साथ दिएका छन् । उनीहरुले मुढा उचाल्ने, पानी फाल्ने, चेनपुली तान्ने जस्ता बल प्रयोग हुने काम गरिरहेका छन् ।  

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिबारीसहित दुवै जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्राविधिक जनशक्तिको सहभागितामा बिहीबार बसेको बैठकले उद्धार कार्यमा संलग्न प्राविधिकको मागअनुसार थप उद्धार सामग्री प्रयोग गरी केही समयसम्म बस उत्खनन कार्यलाई निरन्तरता दिने निर्णय समेत गरेको छ ।  

‘हाम्रो योजना अनुसार त काम भएको छैन । तनहुँका साहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीले भने ‘केही दिन कामको प्रगती हेरेर हामीले निर्णय गछौँ ।’

प्रशासनले सबै प्रयास गर्दा पनि बस उत्खनन गर्न नसकिएमा सबारी साधनका छुट्टाछुट्टै पार्टपुर्जा निकालेर उत्खनन तथा राफसाफ गर्ने निर्णय गरेको छ ।  

‘तेस्रो विकल्पका रूपमा हेभी उपकरणहरू हेलिकप्टरमार्फत नदीपारि लगेर उत्खनन गर्ने तथा सडकमार्गको पहुँच पुर्‍याई उत्खनन गर्ने विषयमा पनि छलफल भएको थियो । तर प्राविधिक जनशक्ति (इन्जिनियर)हरूबाट प्राप्त रायअनुसार थप स्रोतसाधन, जनशक्ति र समय आवश्यक पर्ने भएकाले उक्त विकल्प तत्काल सम्भव नदेखिएको छैन’ उनले भने ।  

गत पुस २७ गते स्थानीय एक व्यक्तिले माछा मार्ने क्रममा सबारी साधनको अवशेष फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । सोही दिनदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेल्चाको प्रयोग गरी बालुवा उत्खनन गर्दै अवशेष निकाल्ने प्रयास थालेका थिए । त्यसबाट सम्भव नभएपछि दुर्घटनाग्रस्त सबारी साधन निकाल्ने कार्य गर्दै आएको तनहुँको ‘मिलन चेनपुली’ कम्पनीले चेनपुलीको सहायतामा उत्खनन कार्य सुरु गरेको थियो ।

प्रकाशित: १० माघ २०८२ १९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App