मौलापुर नगरपालिका वडा नम्बर १ मर्यादपुर गाउँ नजिक लालबकैया नदीले तटबन्ध पूर्णरूपमा बगाएपछि नदी नियन्त्रणका लागि आकस्मिक प्रयास तीव्र पारिएको छ।
तटबन्ध कटानसँगै बाढीको पानी बस्ती तथा खेतीयोग्य जमिन तर्फ पस्ने जोखिम बढेपछि जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा मौलापुर नगरपालिका र सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालयले नदी नियन्त्रणको काम अघि बढाएका हुन्।
मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले नदी नियन्त्रणका लागि स्थानीय तह, प्राविधिक टोली र सम्बन्धित निकायको सहकार्यमा तत्कालीन तथा आकस्मिक उपायहरू अपनाइएको बताए। हालसम्म गरिएको कामको प्रगति सन्तोषजनक रहेको उनको दाबी छ।
लालबकैया नदीमा आएको बाढीले साविकको तटबन्ध नै कटान गरी बगाएपछि मर्यादपुरसहित आसपासका बस्तीमा डुबान तथा कटानको जोखिम बढेको थियो।
जोखिमलाई तत्काल न्यूनीकरण गर्न स्थानीयवासी, नदी नियन्त्रणसम्बन्धी प्राविधिक टोली तथा सुरक्षाकर्मी परिचालन गरी बोरामा माटो भरेर नदी किनारमा राख्ने र बाँसको पाइलिङ गर्ने काम गरिएको छ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बाढीको बहावले तटबन्ध कटान गर्दै गएपछि तत्कालका लागि अस्थायी तटबन्ध निर्माण गरी नदीको बहाव नियन्त्रण गर्ने प्रयास भइरहेको बताए।
जोखिमयुक्त स्थानमा स्थानीय स्रोत–साधनको प्रयोग गर्दै तत्कालीन सुरक्षा उपाय अपनाइएको उनको कथन छ।
लालबकैया नदीको बहाव तीव्र हुँदा कमजोर बनेको तटबन्ध थप कटान हुने सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रमा निरन्तर निगरानी र नियन्त्रणको काम भइरहेको प्रशासनले जनाएको छ।
स्थायी समाधानका लागि भने नदी नियन्त्रणको प्राविधिक अध्ययन तथा दीर्घकालीन संरचना आवश्यक देखिएको छ।
बाढीको समयमा नदीको धार परिवर्तन तथा तटबन्ध कटानले मर्यादपुरलगायत तल्लो तटीय क्षेत्रमा हरेक वर्ष जोखिम बढाउने गरेको स्थानीयको भनाइ छ।
यसपटक पनि साविकको तटबन्ध बगेपछि तत्काल अस्थायी संरचना निर्माण गरिए पनि दीर्घकालीन नदी नियन्त्रणका लागि बलियो तटबन्ध र व्यवस्थित नदी व्यवस्थापन आवश्यक रहेको स्थानीयको कथन छ।
प्रकाशित: ३१ श्रावण २०८३ १७:११ आइतबार





